काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरूण नदी थुनिएको छ ।
मकालु गाउँपालिका-३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि नदी थुनिएको हो । अरूण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरूण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए । ‘टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको हो,’ गोदारले भने ।
अरूण नदीको वहाब परिवर्तन गरी ४२९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेलमार्फत नदी बग्दै आएको थियो। टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ ।
पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ । सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । पहिरोले अरूण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ । रासस