नेपाल धितोपत्र बोर्डका अध्यक्षमाथि छानबीन गर्न सरकारले गठन गर्‍यो जाँचबुझ समिति

 भदौ १६, कामाठाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाका सम्बन्धमा छानविन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।  बुधवार मन्त्रिपरिषदको बैठकले सर्वोत्तम सिमेन्टको शेयर खरीदमा बोर्डका अध्यक्ष ढुंगानाको संलग्नताबारे प्रतिवेदन पेश गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको हो । समितिमा प्राध्यापक नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य रहेका छन् । धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन स्रोतले बताएको छ । सो उपदफा अनुसार अध्यक्षले हानि नोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्नेछ । जाँचबुझ समितिले सिफारिस गरेमा अध्यक्षलाई हटाउन सकिने व्यवस्था रहेको छ ।  उक्त कम्पनीको शेयर कानून विपरीत अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर खरीद गरेको भेटिएपछि अर्थ मन्त्रालयले यसअघि यस विषयमा छानबिन गर्न कानून महाशाखा प्रमुख पराश्वर ढुंगानाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।