खानेपानी आयोजना बाढीले बगाउँदा तीन करोडबराबरको क्षति
बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा रु तीन करोडबराबरको क्षति भएको छ ।
खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प,...
भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा रू. ३ करोड बराबरको क्षति भएको छ । खोलाभन्दा करीब सय मिटर वर रहेको आयोजना स्थलमा बाढीले सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीनओटा कन्ट्रोल प्यानल, स्टेपलाइजर, चेन पुल्ली, पालेघर लगायतमा क्षति पुर्याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए ।
आयोजना निर्माण स्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ । प्रमुख सिंहले भने, ‘आयोजना रहेको ठाउँमा अहिले खोला बगेको छ, आयोजना बगाउँदा स्थानीयवासी पिउने पानीबाट वञ्चित भएका छन्, यसलाई पुन: सञ्चालनमा ल्याउन कार्यालयले पहल थालेको छ ।’ निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा ठूलो क्षति पुगेको उनको भनाइ छ । आयोजनाको कार्यालयले स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको सिंहले जानकारी दिए ।
‘अर्को आर्थिक वर्षको शुरूमा हस्तान्तरण गर्ने लक्ष्य थियो, हस्तान्तरणको अन्तिम अवस्थामा बाढीले क्षति पुगेको छ, पुन: सञ्चालनका लागि मन्त्रालयलाई जानकारी गराएको छु,’ उनले भने । आर्थिक वर्ष २०७५/७६ देखि यो योजनाको निर्माण थालिएको हो । कुल अनुमानित रू. ११ करोड ११ लाख लागतमा निर्माण भइरहेको छ । यही असार २ गते राति आएको बाढीले आयोजनास्थलमा क्षति पुर्याएपछि स्थानीय पिउनेपानीबाट वञ्चित भएका छन् ।