खर्च कटौतीको नारा दिएको सरकारले उपप्रधानमन्त्रीको लर्को खडा गरेको छ । तर, तिनीहरूको केही पनि काम छैन । सत्ता जोगाउन खडा गरिएको यो पदको चरम दुरुपयोग भएको छ । जनताले तिरेका करबाट तलबभत्ता बुझे पनि यिनीहरूमा जनताप्रति दायित्वबोध कहिल्यै भएको पाइँदैन । हुँदाहुँदा उपप्रधानमन्त्री जस्तो मान्छे कुनै कम्पनीको आईपीओको चिट्ठा तान्न गए । उनले चिट्ठा निकाले । आईपीको चिट्ठा तान्न जाने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई कसैले पनि प्रश्न गरेनन् । उनलाई पनि कत्ति लाज लागेन । यसले थाहा हुन्छ हाम्रो मानसिकता र नियति । उनको उपस्थितिको कुनै पनि अर्थ नहुने कार्यक्रममा खुरुखुरू जाँदा उपप्रधान तथा गृहमन्त्री कतिको बेकामे र फुर्सदिला रहेछन् भन्ने देखिन्छ । उनीमात्र होइन, वास्तवमा पूरै सरकार फुर्सदिलो छ । जनताको काम गर्न परेको भए बेफुर्सदी बन्ने हो । काम केही नगर्ने तर चर्चाको लोभ गर्ने भएपछि जहाँ जहाँ भाषण ठोक्न पाइन्छ, ताली पाइन्छ, माला लगाइन्छ, यसो उपहार चढाइन्छ त्यस्तो ठाउँमा पुगिहाल्ने प्रवृत्ति नेताहरूमा पाइन्छ ।
मन्त्रिपरिषद् भनेको काम गर्ने अंग हो । तर, भाषण गर्ने र अर्तीउपदेशको फेहरिस्त सुनाउने अनि जहाँ जस्तोसुकै कार्यक्रममा गए पनि विद्वत्ता छाँट्ने अनौठो मानसिक रोग छ नेपालका नेताहरूसँग । उनीहरू यसैलाई आफ्नो सफलता ठान्छन् । जनता पनि यसैमा रमाइरहेका छन् । कुनै कार्यक्रममा जति ठूलो पदको मान्छे बोलायो त्यति ठूलो उपलब्धि मान्ने सोच छ । कामचाहिँ सिन्को नभाँचे पनि हल्ला गर्ने यही परिपाटीका कारण ‘काम गर्ने कालु मकै खानु भालु’ भने जस्तै भएको छ । काम गर्नेहरू पछाडि परेका छन्, नेताको भजन गाउँनेहरू अगाडि छन् । वास्तवमा नेपालको सरकारको कामै छैन । त्यसैले मन्त्रीहरू फुर्सदिला छन् । योजना बनाउने, तिनको कार्यान्वयन गर्ने, मुलुकलाई गति दिने कुरा मन्त्री प्रधानमन्त्रीको कार्यक्षेत्रमा नै पर्दैन । यसबारेमा उनीहरूले अध्ययन र काम गरेको अनुभव हुँदैन । तर, मिटिङ, भेटघाट, कार्यकर्ता भेलालाई सम्बोधन, कुनै पनि कार्यक्रमको उद्घाटनजस्ता काम भने उनीहरूको उच्च प्राथमिकतामा परेको देखिन्छ । केपी ओली प्रधानमन्त्री भएका बेलामा त बन्दै नबनेका आयोजनाको पनि उद्घाटन भए । अहिलेसम्म ती आयोजना पूरा भएका छैनन् ।
गिरीश जोशी
कलंकी, स्युचाटार काठमाडौं ।