फुटबल स्टार रोनाल्डोको ट्रेडमार्कमा पनि नेपालीको नक्कल, सीआर ७ (CR7) नाममा जुस उत्पादन गर्दै

पुस २३, काठमाडौं। फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ट्रेडमार्क नक्कल गरेर नेपाली कम्पनीले जुस उत्पादन गर्ने तयारी गरेको छ । सिमराजितपुर उपमहानगरपालिका क्षेत्रमा रहेको पशुपति थाइ बेभरेज प्रालीले सीआर ७ (CR7) नाममा जुस, सोडा, लगायतका इनर्जी ड्रिङ्क्स उत्पादन गर्न ट्रेडमार्क दर्ताको लागि आवेदन दिएको छ । यूरोपदेखि अमेरिकासम्म होटलदेखि विभिन्न सेवा तथा उत्पादनमा रोनाल्डोले प्रयोग गर्दै आएको सीआर ७ ट्रेडमार्क नेपाली कम्पनीले नक्कल गर्न खोजेको हो । कम्पनीले ट्रेडमार्क दर्ताका लागि उद्योग विभागमा निवेदन दिइसकेको छ। उक्त ट्रेडमार्कमा कसैको दावी विरोध भए दावी विरोध गर्न विभागले उद्योग बुलेटिनमा ट्रेडमार्क प्रकाशित गरेको छ । रोनाल्डोको एशियाली देशमा व्यापार नरहेकोले नेपालमा सीआर ७ ट्रेडमार्क दर्ता भएको कुरा उनले तत्काल थाहा पाउने देखिदैन। उनको ट्रेडमार्क नक्कल हुँदैछ भन्ने कुरा थाहा नपाएपछि दावी विरोध पर्ने सम्भावना पनि कम छ । दावी विरोध नपरेपछि विभागले उक्त ट्रेडमार्क पशुपति थाइ वेबरेजलाई दिने छ। भविष्यमा फुटबलर रोनाल्डोको कुनै उत्पादन नेपाल प्रवेश गरेको खण्डमा उनले कानूनी लडाइ लड्नुपर्ने देखिन्छ । नेपालमा बौद्धिक सम्पतीको संरक्षण कानून भरपर्दो नभएका कारण बहुराष्ट्रिय कम्पनीहरुमा नराम्रो छाप परिसकेको छ। केही बहुराष्ट्रिय कम्पनीले लामो कानूनी लडाइ लडेर आफ्नो ट्रेडमार्क फिर्ता लिए पनि कुरकुरेलगायतका कम्पनीको कानूनी लडाइ अहिलेसम्म टुङ्गिएको छैन । ५० वर्ष पुरानो कानून संसोधन नभएसम्म बौद्धिक सम्पती संरक्षण गर्न निकै कठिन हुने देखिन्छ। उक्त ऐन संसोधनका लागि २ वर्ष अघिनै ड्राफ्ट तयार भएपनि अहिलेसम्म संसदबाट पास हुन सकेको छैन । यो पनि पढ्नुस- भारतीय मसला ब्राण्ड ‘एमडीएच’ को ट्रेडमार्क नेपाली कम्पनीको कब्जामा, सक्कली उत्पादन बेच्न रोक