होटेलमा लगानी जोखिमपूर्ण

पर्यटन विभागबाट पाँचतारा स्तरीय होटेलको स्वीकृति लिने होटेलको संख्या १७ पुगेको छ । नेपालमा पछिल्लो समय पाँचतारा स्तरको होटेल खोल्ने क्रम बढेको छ । यद्यपि यी काठमाडौंमा नै केन्द्रित छन् । बढ्दो होटेल संख्याले व्यवसायीमा पर्यटन व्यवसाय फस्टाउने आशा बलियोसँग रहेको देखाउँछ । त्यस्तै विदेशी लगानी पनि पर्यटन क्षेत्रमा बढ्दै छ । कुल पर्यटक आगमन १० लाख नाघेको छ तर यतिले मात्रै होटेलहरूले पूरा व्यवसाय पाउने सम्भावना कम देखिन्छ । पाँचतारे होटेल र लक्जरी रिसोर्टको संख्या बढ्नु भनेको गुणस्तरीय पर्यटकको संख्या बढ्नु हो । यो सम्भावना देखेर थाइल्यान्डको दुसित थानी नेपाल आएको छ भने कम्बोडियाको सिन्तामणि पनि नेपालमा आएको छ । पाँचतारे होटेलहरूको व्यवस्थापन विश्वका ठूला चेनहोटेलहरूले लिएका छन् । उनीहरूले व्यवसाय विस्तार गर्न आफै विज्ञापन गर्छन् । यसले विशेष स्वाद र रुचि भएका पर्यटकलाई नेपाल ल्याउन मद्दत गर्ने देखिन्छ । जसरी होटलमा लगानी बढेको छ त्यसअनुसार पर्यटक नआउँदा यसमा गरिएको लगानी जोखिमपूर्ण देखिएको छ ।  पाँचतारे होटेलहरू काठमाडौंमा बढी केन्द्रित देखिन्छन् । तर, नेपाल आउने पर्यटक पक्कै पनि काठमाडौंमा मात्रै घुम्नका लागि आउँदैनन् । त्यसो हुँदा यस्ता होटेल प्रमुख पर्यटकीय क्षेत्रमा बन्नु आवश्यक देखिन्छ । पर्यटनको राजधानी भनिने पोखरामा एउटामात्रै पाँचतारे होटेल छ । अर्को पाँचतारे होटेल फूलबारी समस्यामा परेको छ र सञ्चालन हुन सकेको छैन । सुविधाका हिसाबले पाँचतारेसरहका होटेल भए पनि पाँचतारे होटेल पोखरामा एउटामात्रै सञ्चालन हुनुले गुणस्तरीय पर्यटन त्यति सहज छैन भन्ने देखाउँछ ।  सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो ।  पाँचतारे मात्रै होइन तीन र चारतारे होटेलका साथै ताराविहीन होटेलहरूको संख्या पनि निकै बढेको छ । अर्थात् नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी बढेको छ । अहिले सबै होटेलको कोठाको संख्या हेर्दा वार्षिक २० लाख पर्यटक आए पनि धान्ने देखिन्छ । तर, पर्यटकको संख्या १० लाख मात्रै नाघेको छ । यसले यी होटेल पर्याप्त मात्रामा सञ्चालन हुन नसक्ने देखिन्छ । यद्यपि पछिल्ला समय विश्वका धनाढ्यहरूले खुसुक्क नेपाल भ्रमण गर्न थालेको देखिन्छ । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल सधैंजसो नै परिरहने गरेको छ । तर, उत्कृष्टको सूचीमा परेर पनि त्यसअनुसार पर्यटक ल्याउन भने नेपाल चुकिरहेको छ ।  सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीहरूले लगानी गर्ने हुन् । तर, पर्यटन आउने मुख्य माध्यम विमानस्थल नै कमजोर छ । एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई पूर्ण क्षमतामा २४ सै घण्टा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक छ । त्यस्तै नेपालको वायुसेवा अन्तरराष्ट्रिय क्षेत्रमा जति विस्तार हुन्छ त्यति नै पर्यटकको संख्या बढ्छ । सीधा उडान हुँदा हुने सहजता र समयको बचतको लाभ पर्यटकले लिन पाउँछन् र गुणस्तरीय पर्यटन बढ्छ । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानको विस्तार गर्न सकेको छैन । विदेशी वायुसेवा कम्पनीको महँगो भाडादरका कारण पनि पर्यटक नेपाल आउन तर्सिरहेको अवस्था छ । सरकारले पूर्वाधार निर्माण र सञ्चालन गर्न नसक्दा लगानीमा कस्तो असर पर्छ भन्ने कुरा भैरहवा र लुम्बिनी क्षेत्रका होटेलहरूले भोग्नुपरेको पीडाले बताउँछ । गौतमबुद्ध विमानस्थल चल्छ भन्ने हिसाब गरेर त्यहाँ ठूलो संख्यामा होटेलमा लगानी भयो । तर, विमानस्थल चल्न सकेन । अहिले व्यवसायीहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो । त्यसैले सरकारले सही नीति लिनुपर्छ र त्यसअनुसार काम गर्नुपर्छ ।

सम्बन्धित सामग्री

विदेशीहरु हिचकिचाए, लगानी भित्रन सकेन : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ- पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेपालमा जोखिमपूर्ण अवस्थामा लगानी गर्न विदेशीहरु हिचकिचाउने भएकाले गर्दा लगानी भित्रन नसकेको बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै […]

पर्यटनमा भ्याट र कर विवाद: पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने बेला करको बोझ

कुनै एउटा स्रोतमा अर्थतन्त्र अत्यधिक निर्भर हुँदा अर्थतन्त्र निकै जोखिमपूर्ण हुन्छ । कुनै कारणले त्यो स्रोतमा समस्या आयो भने अर्थतन्त्र मात्र होइन, राजनीति, राज्यसंयन्त्र र सामाजिक व्यवस्था नै समाल्न नसक्ने अवस्थामा पुग्न सक्छ । अत: सबैजसो देशले अर्थतन्त्रका विविध पक्षलाई सँगसँगै लगेको पाइन्छ । नेपाली अर्थतन्त्रको कुनै पक्ष पनि दिगो छैन र यो पशुपतिनाथको कृपाले चलिरहेको छ ।  मुलुकको अर्थतन्त्रले अहिले सास फेर्न पाएको कारण विप्रेषण आय नै हो । युवाहरू विदेश नगएको भए नेपालका प्रतिव्यक्ति आय यति धेरै बढ्ने थिएन होला । गरिबी निवारणमा यो सफलता हासिल हुने थिएन जीवनस्तरमा यति सुधार आउने थिएन । हो, यसको केही बेफाइदा छन् । विडम्बनाको अर्को एउटा पाटो छ : विप्रेषण आय रोकियो भने त्यसको विकल्पमा अर्को स्रोत बनाउँदै लैजानुपर्छ भन्नेमा नीतिनिर्माता चुकिरहेका छन् । नेपालको सन्दर्भमा यो किन पनि आवश्यक छ भने विप्रेषण आय अदक्ष जनशक्तिबाट बढी आउँछ जुन श्रमको अनुपातमा निकै कम रकम हो । त्यसैले बढी रोजगारी सृजना गर्ने, स्थानीय उत्पादनलाई उच्च मूल्य दिलाउने, विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रलाई सरकारले उचित प्राथमिकता दिएको छैन भन्न सकिन्छ । नीति र कार्यक्रममा जेजस्ता शब्द जञ्जाल भए पनि व्यवहारत: नेपाली पर्यटनले सरकारबाट सहयोग होइन, असहयोग पाएको अनुभव व्यवसायीले गरिरहेका छन् । यसमा केही कारण छन् । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति पर्यटनलाई सहयोग गर्ने खालका छैनन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र लयमा फर्कन थाले पनि पुरानै अवस्थामा आइसकेको भने छैन । यस्तो अवस्थामा यस क्षेत्रलाई कर छूटलगायत सहुलियत दिइनुपथ्र्यो । व्यवसायीले यस्तो अपेक्षा पनि गरेका थिए तर सरकारले उल्टो निर्णय गर्‍यो । पाँचतारे होटेललाई विलासिता कर लगायो भने हवाइ टिकटमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लिन थाल्यो । अहिले नेपाल होटेल संघले सरकारसँग यो व्यवस्था हटाउन माग गरिरहेको छ । पाँचतारे होटेल यसै पनि भरिभराउ छैनन् । गुणस्तरीय पर्यटक आउने अपेक्षा गरिएको यस्तो होटेलमा कर लगाउँदा पक्कै पनि पर्यटक आगमनलाई असर गर्छ । विश्व पर्यटन बजार प्रतिस्पर्धी छ । भ्रमणको योजना बनाउँदा सबैले खर्चको हिसाबकिताब गर्छन् । नेपाल सस्तो गन्तव्य भएकाले धेरैको रोजाइमा नेपाल पर्ने गरेको हो । तर, सरकारले पाँचतारे होटेलमा कर लगाएको मात्र होइन, हवाई टिकटमा भ्याट लगाएको छ । यसले हवाई सेवाको मूल्य पनि बढेको छ । आवागमनमा नै बढी पैसा खर्च भएपछि पर्यटकले नेपाल किन रोज्ने ? नेपालजस्तै विशेषतायुक्त मुलुकमा किन नजाने ? यसै पनि कोरोनाका कारण प्रभावित विश्व अर्थतन्त्र राम्ररी लयमा आउन सकेको छैन । रूस–युक्रेन युद्धले विश्वलाई नै महँगो बनाएको छ । महँगी बढेपछि बचत कम हुन्छ घुमघामका लागि पैसाको जोहो गर्न गाह्रो हुन्छ । त्यसमा पनि हवाई सेवा निकै महँगो छ । यस्तोमा सरकारले नेपाली व्यवसायीलाई केही छूट र राहत दिएर बढी पर्यटक ल्याउने वातावरण बनाइदिनुपर्ने हो । उल्टै भ्याट र करको बखाडा ल्याएर निरुत्साहित गरिएको छ । यही कारण अहिले व्यवसायीले अदालत गुहार्नु परिरहेको छ । यस्तोमा पर्यटन व्यवसाय कसरी फस्टाउँछ ? पर्यटन चाहिएको छैन भन्ने हो भने त्यो बेग्लै कुरा हो ।  व्यवसायलाई जति कम कर लगाइन्छ त्यति नै त्यो फस्टाउँछ । विकसित अर्थतन्त्रले यसैअनुसार कर लगाउँछन् । त्यसैले कर र भ्याटबाट पर्यटनलाई असर पर्ने भएकाले यो हटाई सुविधा दिँदा मुलुकको अर्थतन्त्रलाई अधिक लाभ हुने देखिन्छ ।  पर्यटन क्षेत्रलाई साँचिकै सरकारले प्राथमिकता दिएको भए त यसमा कर लगाएर व्यवसाय महँगो बनाउने थिएन । करमुक्त व्यवसाय हुँदा सेवा तुलनात्मक रूपमा सस्तो हुन्छ, व्यवसायीको नाफा पनि बढी हुन्छ । यस्तोमा उसले पर्यटनमै थप लगानी गर्न सक्छ । व्यवसाय बढेपछि सरकारले पाउने आम्दानी पनि पाइ नै हाल्छ । आखिर सरकारी ढुकुटीमा बढी रकम आइहाल्छ भने तत्कालका लागि मात्रै सोचेर करको लोभ किन गरिएको हो ? व्यवसायलाई जति कम कर लगाइन्छ त्यति नै त्यो फस्टाउँछ भन्ने गरिन्छ । विकसित अर्थतन्त्रले यसैअनुसार कर लगाउँछन् । त्यसैले कर र भ्याट लगाएर पर्यटनलाई असर पार्नुभन्दा सुविधा दिएर तिनलाई सहयोग गर्दा अर्थतन्त्रलाई अधिक लाभ हुने देखिन्छ ।  व्यवसायीले पर्यटनलाई उद्योगको मान्यता दिन माग गरे पनि त्यसअनुसार भएको छैन । विदेशबाट केही सामान ल्याएर जोडजाड गर्ने उद्योगलाई सरकार उत्पादक कम्पनी मानेर सुविधा दिने तर त्यसले भन्दा बढी रोजगारी दिने, विदेशी मुद्रा आर्जन गर्ने र सरकारलाई पनि लाभ दिने पर्यटनलाई भने त्यस्तो मान्यता दिन सरकार हच्किरहेछ । अझ उत्पादन निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने कम्पनीलाई निर्यात अनुदान दिने गरिएको छ । तिनले भन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी पनि दिने पर्यटनलाई चाहिँ करमा कस्दै लगिएको छ । यो कस्तो मानसिकता हो ?  दिगो पर्यटनबाट विदेशी मुद्रा आर्जन पनि दिगो हुन्छ । अहिले विप्रेषणको खहरे जति नै ठूलो भए पनि त्यसको भविष्य सुनिश्चित छैन । यस्तोमा त्यसको विकल्प हुन सक्ने क्षेत्र पर्यटन भएकाले त्यसतर्फ सरकार सकारात्मक हुनै पर्छ । आधिकारिक तथ्यांक नभए पनि नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनले ५ प्रतिशतभन्दा बढी योगदान दिएको छ । उचित नीति र प्रोत्साहन हुने हो भने यसलाई १० प्रतिशत पुर्‍याउन सकिन्छ । अमेरिकी राष्ट्रपति जिमी कार्टरले भनेका थिए : कुनै व्यवसाय चल्दैन भने अनुदान देऊ र राम्ररी चलेको छ भने कर लगाऊ । तर, पर्यटनमा नेपाल सरकारले उल्टो गरिरहेको छ । अनुदान त परको कुरा चल्न नसकेकै अवस्थामा पनि करको भारी थोपरेको छ ।  खासमा सरकारले नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाई यूरोप, जापान, अस्ट्रलिया आदि नेपालका पर्यटन स्रोत बजारमा प्रत्यक्ष वायु सेवाका लागि आफ्नो सामथ्र्य पूर्णरूपमा उपयोग गर्नुपर्ने हो । यसमा सरकार चुकिरहेको छ । सिड्नी उडान थालियो भने त्यो एउटा सकारात्मक हुनेछ । सीधा वायुसेवाले पर्यटकका लागत र समय बचाउँछ । त्यसबाट पर्यटकले लिने लाभले पर्यटन क्षेत्र नै लाभान्वित हुन्छ । अर्को, सरकारले पाँचतारे होटेलमा लगाएको विलासिता कर र हवाई टिकटको भ्याट तुरुन्त फिर्ता लिनुपर्छ । यसो गर्दा सरकारको राजस्व केही घट्ला । तर, यसले पर्यटन क्षेत्र बढी चलायमान हुँदा घुमाउरो पाराबाट सरकारकै आम्दानी बढ्छ । सरकारले व्यवसायीको माग नसुन्दा अदालत गुहार्नुपर्ने अवस्था आउनु भनेको सरकार व्यवसायमैत्री छैन भन्नु हो ।  अर्को, अहिले राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा केही सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने भनेको छ । कस्तो र कसरी यस्तो कर्जा दिलाउने हो त्यो निर्देशिकाले स्पष्ट पार्छ । तर, यसमा पर्यटन क्षेत्रलाई पनि समेट्नुपर्छ । उत्पादनमूलक उद्योगभन्दा पर्यटन क्षेत्रले अर्थतन्त्रमा बहुआयामिक असर पार्छ । त्यस्तै राष्ट्र बैंकले प्राथमिकताप्राप्त कर्जामा पर्यटन क्षेत्रलाई पनि समेट्नु उपयुक्त हुन्छ । एकाध कम्पनीले प्रोजेक्टका आधारमा ऋण पाए पनि धेरैका लागि त्यो सहज छैन । विदेशबाट केही अनुभव लिएर र सिकेर आएका युवाले पर्यटनमा नयाँ सोचका साथ काम गर्छन् भने तिनलाई प्रोजेक्ट धितोमा कर्जा दिने नीति लिइनुपर्छ । राष्ट्र बैंकले यी व्यवस्था निर्देशिकाबाट पनि गर्न सक्छ । अन्यथा अब हुने त्रयमासिक समीक्षामा यसलाई सम्बोधन गर्नैपर्छ । मुख्य कुरा सरकारले व्यवसायीको माग अनुसार भ्याट र करको प्रावधान सच्याउनैपर्छ । अन्यथा सुनको अण्डा दिने कुखुरा मास्दा न कुखुरा न अन्डा भनेजस्तै स्थिति नहोला भन्न सकिँदैन ।  लेखक पर्यटन व्यवसायी हुन् ।