मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणका लागि २०७५ भदौमा ६ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।
आयोजनाका व्यवस्थापक नरेन्द्र न्यौपानेले निर्माण गरिएको पुल यातायात सञ्चालनका लागि योग्य भएको जानकारी दिए । ‘छेउमा रेलिङ राख्ने र रङरोगन गर्ने काम हिमपातले रोकिए पनि गाडी चलाउन सकिन्छ,’ उनले भने, ‘पहुँचमार्ग र पुलको संरचनाको निर्माण सकिएको छ । बाँकी काम सकेर हस्तान्तरणको तयारीमा छौं ।’
लेतेखोलामा हाल अस्थायी बेलिब्रिजबाट यातायात सञ्चालन हुँदै आएको छ । पक्की पुल निर्माण भएसँगै लेतेखोलाको बेलिब्रिज अन्यत्र स्थानान्तरण गर्ने तयारी भएको आयोजनाले बताएको छ ।
एक सय छयासी किलोमिटर दूरीको बेनी –जोमसोम–कोरला सडकमा लेतेखोलासहित नौओटा मोटरेबल पुल निर्माण गरिएको र बाह्रओटा पुल निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख जगत प्रजापतिले बताए । रासस