चितवन । कृषि सामग्री कम्पनी लिमिटेडले चितवनमा जेठको दोस्रो सातादेखि अनुदानको रासायनिक मल वितरण गर्ने तयारी गरेको छ । कम्पनीले हाल आयात भएकोे मल भण्डारण गर्दै लगिएकोे जानकारी दिएको छ ।
कम्पनीका चितवन शाखा प्रमुख राजन बगालेका अनुसार हाल ४०० टन डीएपी, ३०० सय टन युरिया मल भण्डारणमा छ । उनले भने, ‘अहिले आइरहेको मल स्टकमा राखेका छौं, धानको बीउ छर्ने बेलाका लागि मल सहज होला, रोपेपछि छर्ने मलको अभाव हुन सक्छ ।’ ठूलो परिमाणमा अनुदानको मल नआए विगतका वर्षमा जस्तै यो वर्ष पनि धानको सिजनमा मल अभाव हुने उनको भनाइ छ ।’
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, चितवनका प्रमुख बुद्धिविनोद दाहालले आगामी सातादेखि मल वितरण गरिने बताए । ‘मल कति आउँछ भन्ने यकीन भएको छैन, तर अघिल्लो वर्षको भन्दा सहज हुन्छ,’ उनले भने ।
पछिल्लो समय किसानले पर्याप्त मात्रामा अनुदानको मल नपाउँदा महँगो मूल्यमा खरीद गर्न बाध्य भएका छन्, जसका कारण खेतीपातीमा किसानको लागत बढी परेको छ । अन्य समयभन्दा धानको सिजनमा मलको माग बढी हुन्छ ।
चितवनमा वार्षिक १५ हजार टन मल आवश्यक पर्छ । त्यसमध्ये कृषि सामग्री कम्पनीले करीब ३ हजार मेट्रिक टन र साल्ट ट्रेडिङले ९०० मेट्रिक टन मल विक्री गर्दै आएको छ ।
सरकारको स्वामित्वमा रहेका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको मल सहकारी तथा एग्रोभेटहरूलाई वितरण गर्छन् । चितवनमा रहेका २४० विक्री केन्द्रमार्फत मल वितरण गरिँदै आएको छ ।