काठमाडौं । सरकारले यो वर्षको शैक्षिक सत्र आगामी जेठ महिनासम्म लम्ब्याउने जनाएको छ । कोरोनाका कारण असर परेको साविक शैक्षिक सत्रमा दुई महिना थप गरी जेठसम्म लम्ब्याइएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी हुनु भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताउनुभएको हो ।
यस निम्ति मन्त्रालयले तयारी गरीसकेको उहाँको भनाई छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाईएको र छिट्टै टुंगो लाग्ने जानकारी दिनुभयो ।
यस्तै, मन्त्री श्रेष्ठले आगामी दिनमा एचआईभी. संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत बताउनुभयो ।