सोरु गाउँपालिकामा बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिँदा लामो समयदेखि विकास निर्माणको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लको एक महिनाअघि सरुवा भएपछि अहिले पनि निमित्तकै भरमा कामकाज भइरहेको छ ।
काठमाडौं । दुर्गम जिल्लाका सबै पालिकामा सुलभ नून उपलब्धता गराउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकले दुर्गम जिल्लाका सबै पालिकामा सुलभ नून उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो । समितिले साल्ट ट्रेडिङ कर्पोरेशनबाट आपूर्ति हुने गरेको रासायनिक मल, चिनीलगायत अत्यावश्यक खाद्य […]
काठमाडौं । बीमा कम्पनीहरूको शाखा स्थापनामा प्रदेशगत रूपमा असन्तुलन देखिएको छ । जीवन र निर्जीवन दुवै प्रकारका कम्पनीको शाखा विस्तारमा प्रदेशगत असन्तुलन देखिएको हो ।
बीमा समितिले कम्पनीहरूको प्रदेशगत सहभागिताको विषयमा तयार गरेको एक रिपोर्टले यस्तो देखाएको हो । उक्त रिपोर्टअनुसार तुलात्मक रूपमा सुगम मानिने बागमती प्रदेशमा बीमा कम्पनीको शाखा कार्यालय बढी छ । अन्यको तलुनामा दुर्गम मानिने कर्णाली प्रदेशमा भने बीमा कम्पनीको न्यून उपस्थिति छ ।
नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीले मुलुकभर २ हजार २६९ शाखा स्थापना गरेका छन् । त्यसमध्ये बागमती प्रदेशमा मात्र ५९३ ओटा शाखा छन् । कर्णाली प्रदेशमा भने जीवन बीमा कम्पनीका १४८ ओटा मात्र शाखा खोलिएका छन् ।
निर्जीवनतर्फ २० कम्पनीले मुलुकभर १ हजार ८ ओटा शाखा स्थापना गरेका छन्, जसमध्ये बागमती प्रदेशमा मात्र ३०५ ओटा छन् । कर्णालीमा भने ४३ ओटा शाखा मात्र स्थापना भएका छन् ।
बीमाको महत्त्व अनुसार दुर्गम ठाउँमा यसको झन् बढी आवश्यकता हुन्छ । तर, कम्पनीहरू सुगम ठाउँमा केन्द्रित हुँदा दुर्गमका मानिस बीमाको सेवाबाट वञ्चित भएको तथ्यांकले पुष्टि गरेको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि कम्पनीको प्रदेशगत उपस्थिति असन्तुलित देखिएको बताए । ‘बीमा कम्पनीको उपस्थिति प्रदेशगत रूपमा असन्तुलित देखिएको मात्र होइन, उनीहरू शहर केन्द्रित पनि छन्,’ उनले भने, ‘हामीले कम्पनीहरूलाई ग्रामीण तहमा जान पटक पटक भनेका छौं । तर, उनीहरूले मानेको देखिँदैन । परिणास्वरूप दुर्गमका मानिस बीमा सेवाबाट वञ्चित भएका छन् ।’
यता, बीमा कम्पनीहरूलाई गाउँ गाउँमा शाखा नै स्थापना गरेर सञ्चालन गर्न भने चुनौती छ । गाउँबाट हुने व्यवसायले सम्बन्धित शाखाको सञ्चालन/व्यवस्थापन गर्न गाह्रो हुने उनीहरूको भनाइ छ ।
यद्यपि, गाउँ गाउँमा सम्पर्क कार्यालय भए पनि स्थापना गर्नुपर्ने कार्यकारी निर्देशक पौडेल बताउँछन् । ‘अहिले सबै गाउँ नगरउन्मुख भएका छन्, त्यो अवस्थामा पालिकाहरूमा गएर शाखा स्थापना गर्न सहज नै हुन सक्छ,’ उनले भने ।
यस्तै, कम्पनीहरू शहर केन्द्रित देखिएपछि त्यसमा कडाइ गर्ने तयारीमा बीमा समिति रहेको समेत उनले बताए । अब कम्पनीहरूलाई शहरमा शाखा स्थापना गर्न नै नदिनेगरी समितिले रणनीति बनाउने उनले जानकारी दिए । ‘शहरी क्षेत्रमा बीमा कम्पनीको उपस्थिति पर्याप्त मात्रामा भइसकेको छ । अब शहरमा शाखा स्थापना गर्न स्वीकृति नै दिँदैनौं । पालिकामा शाखा स्थापना गर्न प्रोत्साहन गर्छौं,’ उनले भने, ‘यद्यपि, कुनै कुनै शहरमा बीमा कम्पनीको उपस्थिति कम छ भने त्यसमा सहजीकरण हुन सक्छ ।’