पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न

छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ। जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राणा शासनकालमा निर्माण भएको विद्यालय भवन भत्किएर पुनःनिर्माण हुँदा दुई शताब्दीलाई जोड्ने काम भएको बताउनुभयो । विकास र समृद्धिको सपनालाई पूरा गर्न यस्ता शैक्षिक केन्द्रले सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।           कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक र संस्थागत दुवै शैक्षिक संस्थाको केन्द्रका रुपमा महानगरपालिका स्थापित भएको बताउनुभयो । आकर्षकरुपमा पुनःनिर्माण भएको विद्यालय भवनमा शैक्षिक गुणस्तर पनि त्यसैअनुरुप हुनुपर्ने उहाँको भनाइ थियो ।           सो अवसरमा जाइकाका नेपाल प्रमुख आशाकुमा युनिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान महर्जन र प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले विद्यालयको गुणस्तर सुधार गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो । विसं १९८१ मा स्थापना भएको विद्यालयको भवन दुई वर्षपछि १९८३ सालमा निर्माण भएको जानकारी सो अवसरमा गराइएको थियो । यो भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो ।