थप सहयोगका लागि स्थानीय तहको आग्रह

स्थानीय तहका जनप्रतिनिधिले कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहको कोषमा बजेट सकिएकाले थप बजेट सहयोग गर्न सङ्घ र प्रदेश सरकारसँग आग्रह गरेका छन् । चालू आर्थिक वर्षमा कोरोना रोकथाम र नियन्त्रण गर्न विनियोजित बजेट खर्च भइसकेको तथा कोरोना रोकथामका लागि थप बजेट आवश्यक पर्ने भएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारसँग आग्रह गरेका हुन् । अधिकांश ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिकले गाउँपालिका र नगरपालिकाको कार्यालयमा अनुरोध गर्न थालेका छन् । गाउँमा सङ्क्रमण भइहाले अस्पताल, चिकित्सक, औषधि र अक्सिजनलगायतको अभाव हुने एवं ज्यानै जाने जोखिम भएकाले त्रास बढ्दै गएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।