स्ट्याण्डर्ड चार्टर्डले चौथोपटक पनि पायो ‘ट्रिपल ए’ रेटिङ

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ‘ट्रिपल ए’ रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई लगातार चौथोपटक सो रेटिङ दिएको हो । लगानीको दृष्टिले यो रेटिङ सबैभन्दा उच्च कोटीको हो । वित्तीय दायित्वहरू समयमा पूरा गर्ने बैंकहरूलाई इक्रा नेपालले यो रेटिङ दिन्छ । यस्तो कर्जा पाउनेले जारी गरेका ऋणपत्रहरूमा जोखिम निकै कम हुने मानिन्छ । बैंकको पूँजी जोखिम भारित सम्पत्ति अनुपात (सीएआर) १४ दशमलव ९ प्रतिशत छ भने टायर–आई १३ दशमलव ३८ प्रतिशत छ । यो दुवै न्यूनतम नियामक आवश्यकताभन्दा निकै धेरै हो । यो रेटिङले विश्वव्यापी ब्राण्ड प्रतिष्ठाबाट बैंकले पाएको प्रतिस्पर्धात्मक टेवा तथा क्षमता देखाएको इक्रा नेपालले बताएको छ । लगातार चार वर्षदेखि बैंकले ट्रिपल ए रेटिङ पाउनुले आफ्ना ग्राहक र सबै सरोकारवालातर्फ आफ्नो प्रतिबद्धता मजबूत रूपमा प्रमाणीकरण भएको स्ट्याण्डर्ड चार्टर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले बताएका छन् ।