काठमाडौं । नेपालमा गुणस्तरीय सडक चाहिएको हो वा धेरै ? यो वर्षौंदेखिको बहसको विषय हो । सडक गुणस्तरीय तथा दिगो बनाउन कंक्रिट (ढलान) निर्माण गर्नुपर्ने भए पनि सडक विभागले भने बिटुमिनको प्रयोगलाई नै प्राथमिकता दिएको छ ।
विभागका प्रवक्ता शिवप्रसाद नेपालले कंक्रिट सडक आवश्यक देखिए पनि अहिले यससम्बन्धी अहिले कुनै नीति नरहेको बताए । ‘कंक्रिट सडक निर्माणमा चासो नभएको भन्दा पनि नसकिएको अवस्था छ,’ उनले भने, ‘यस्तो खाले सडक बनाउँदा लागत नै उच्च हुन्छ, मर्मतसम्भार खर्च पनि बढी नै हुन्छ ।’
सामान्यतया बिटुमिनको प्रयोगले सडक बनाउँदा प्रतिकिलोमिटर लागत १ करोड ५० लाख रुपैयाँसम्म पर्छ । तर, ढलान गरी बनाइने सडक प्रतिकिलोमिटर लागत ४ करोडसम्म पर्ने विभागले बताएको छ । अहिले सडकको पहुँच विस्तार नै प्रमुख प्राथमिकतामा रहेकाले कंक्रिट सडकमा लगानी बढी पर्ने र करीब १ महीनासम्म सडक अवरुद्ध गर्नुपर्ने लगायत कारण यसमा जान नसकिएको प्रवक्ता नेपालको भनाइ छ । ‘अहिले सडकको पहुँच बढाउनु प्राथमिकताको काम हो,’ उनले भने, ‘यद्यपि अहिले पनि कतिपय ठाउँमा कंक्रिट सडक बनेका छन्, निकट भविष्यमा कंक्रिटमा जानु आवश्यक पनि छ ।’
नेपालमा खासगरी बढी उकालो ओरालो भएका सडक, दलदल बढी भएका खण्डमा आवश्यकताका आधारमा कंक्रिट सडक निर्माण गरिँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव राजेन्द्रराज शर्माले नेपालका सडकमा यो आवश्यक भएको बताए । गुणस्तरीय कंक्रिट सडक बनाउँदा दशकौं टिक्ने भएकाले नेपालका लागि लाभदायी हुने उनको भनाइ छ ।
‘यस्ता सडक ३० देखि ४० वर्षसम्म टिक्छन्,’ कंक्रिट सडक निर्माणको निर्देशिका समेत तयार पारेका उनले भने, ‘नेपालमा दुईओटा कारण यो कंक्रिट सडक प्रयोगमा आउन सकेको छैन, एउटा शुरूकै लगानी तुलनात्मक रूपमा ३ गुणा महँगो पर्छ, अर्काे अव्यवस्थित ढल, खानेपानी जस्ता संरचना विकास गर्दा सडक भत्काउनुपर्छ, कंक्रिट सडक फुटाउन निकै कठिन र फुटाएपछि बिग्रने हुँदा कार्यान्वयमा कठिनाइ भइरहेको छ ।’
बेलाबेला सडक काटिरहनुपर्ने भएकाले कंक्रिट सडक बनाउन अप्ठ्यारो देखिएको उनको भनाइ हो । यद्यपि शुरूको लागत महँगो भए पनि बिटुमिनको प्रयोग गरी सडक निर्माण गर्दा र बनिसकेपछि हुने मर्मत, सम्भारलगायत खर्च हिसाब गर्दा भने सस्तो पर्ने उनले बताए । ‘शुरूको लगानी हेर्दा मात्र महँगो जस्तो देखिएको हो,’ उनले भने, ‘समग्रमा सडकको आयु हेर्दा सस्तो नै पर्छ ।’ पूरै समयको ममर्त, सम्भारको खर्च विश्लेषण गरेर कंक्रिट सडक बनाउँदा सस्तो पर्ने उनले बताए । यस्तै, पानी, ढल व्यवस्थापनका लागि कंक्रिट सडक ५० मिटरदेखि १०० मिटरसम्मको अन्तरमा पाइपका लागि खुला ठाउँ छोडेर निर्माण गर्न सकिने उपाय उनले सुझाए ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले कंक्रिट सडक बनाउन सकिए नेपाली सिमेन्टको खपत तथा बजारको दायरा बढ्ने बताए । कंक्रिट सडक दिगो र गुणस्तरीय हुने, निर्माण तथा मर्मत, सम्भारमा खर्च कम हुने उनले बताए । कंक्रिट सडक निर्माणले नेपाली सिमेन्ट उद्योगलाई टेवा पुग्ने भन्दै उनले यसबाट बिटुमिन जस्ता वस्तु आयातमा विदेशिने रकम रोकिने बताए । उनका अनुसार नेपाली सिमेन्ट उद्योगबाट वार्षिक २५ मिलियन टन सिमेन्ट उत्पादन हुँदै आएको छ ।