काठमाडौं । १८ वर्षअघि सर्वेक्षण गरिएको १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।
म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको आयोजना डेढ दशकपछि निर्माण प्रक्रियालाई अगाडि बढाइएको हो । पहिले कालीगण्डकी गर्जको लाइसेन्स लिएको हाइड्रो सोलुसनबाट गत मङ्सिरमा त्रिवेणी इनर्जी प्रालिले आयोजनाको स्वामित्व किनेको थियो । त्यसपछि भने अहिले आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
विसं २०६३ मा पहिलोपटक सर्वेक्षण गरिएको आयोजना लगानीको स्रोत जुट्न नसक्दा कार्यान्वयन हुनसकेको थिएन । आयोजनाको मुस्ताङको थासाङ गाउँपालिकाको घाँसमा बाँध निर्माण गरेर ६ किलोमिटर लामो सुरुङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङमा रहेको विद्युत्गृहमा पानी खसाएर १८० मेगावाट विद्युत उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विसं २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एन्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । चिनियाँ पक्ष लगानीबाट पछि हटेपछि आयोजना कार्यान्वयन हुनसकेको थिएन ।
त्रिवेणी इनर्जी प्रालिका प्रशासन प्रमुख विजय कार्कीले स्वदेशी लगानीमा कालीगण्डकी गर्ज निर्माणको प्रक्रिया अघि बढाइएको बताए । ‘‘हामी आयोजना बनाउने गरी आएका छौँ, आयोजना प्रभावित स्थानीयवासी र सरोकारवाला पक्षको साथ र सहयोगको खाँचो छ”, उनले भने, “एक वर्षको अवधिमा आयोजनाको भौतिक संरचना निर्माण थाल्छौँ ।”
अर्धजलाशययुक्त आयोजना निर्माणका लागि कम्पनीले गत फागुनमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद विक्री सम्झौता (PPA) गरीसकेको छ । “आयोजनाको कुल लागत ४३ अर्ब रुपैयाँ अनुमान गरिएको छ”, उनले भने, “वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेपछि लगानी जुटाएर आयोजना निर्माण थाल्छौँ ।”
आयोजनाको परामर्शदाता रुप्से इन्भारोमेन्ट सोलुसन प्रालिले आयोजनाको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कनलाई अगाडि बढाएको छ । सोलुसनका आर्थिक, सामाजिक तथा सांस्कृतिक विज्ञ मुक्ति ढुङ्गानाले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिए । म्याग्दी र मुस्ताङका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसहितको टोलीले शुक्रवार आयोजना क्षेत्रको स्थलगतरूपमा अनुगमन गरेको थियो ।
आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार बर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
सुक्खायाममा आयोजनाको पीकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्ने छ । रन अफ दि रिभर प्रकृतिको आयोजनालाई अर्ध जलाशय बनाउन विद्युत् विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो ।
आयोजनाले नारच्याङमा ३ करोड रुपैयाँमा ३०० रोपनी जग्गा अधिग्रहण गरेको छ । आयोजनाबाट उत्पादित विद्युत एक किलोमिटर नजिक रहेको २२० केभी क्षमताको दाना सबस्टेशनमा जोडिनेछ । रासस