साउन १९, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज (मंगलवार) देखि लिलामीमा आएको छ ।
कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो ।
आरएमडीसी लघुवित्तको ३ लाख १० हजार १६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८९ हजार ४३९ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।
आरएमडीसी लघुवित्तको प्रतिकित्ता न्यूनतम मूल्य रू. ५०६, मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५९५ र नागरिक लगानी कोषको प्रतिकित्ता रू. १ हजार ४६३ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
यी सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।