कैलाली । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सीसीटीभी क्यामेरा जडान गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत एक करोड ५१ लाखको लागतमा सीसीटीभी क्यामेरा जडान गरिएका हुन् । आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउन सीसीटीभी क्यामेरा जडान गरिएको हो । मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार सडकका संवेदनशील क्षेत्रको पहिचान गरी १३८ सीसीटीभी क्यामेरा जडान गरिएका छन । जडान गरिएका सीसीटीभी क्यामेरामा पीटीजेड (घुम्ने) सात र अन्य १२० क्यामेरा जडान गरिएका छन् । राजमार्ग क्षेत्रको धेरै व्यक्ति जमघट हुने, चौराह, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा सीसीटीभी क्यामेरा जडानको कार्य गरिएको प्रवक्ता जोशीले बताए । क्यामेरा जडानका लागि १०८ दशमलव ५६ किलोमिटर क्षेत्रमा केबुल बिछ्याइएको छ । सीसीटीभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ ओटा स्टेसन राखिएको छ । ‘क्यामेरा जडानको कार्य पूरा भएको छ,’ मन्त्रालयका प्रवक्ता जोशीले भने, ‘नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् आपूर्तिका लागि सम्झौताको कार्य भइरहेको छ ।’ रासस