चितवन। चितवनमा दूधका थप दुई जोन सञ्चालनमा ल्याइने भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा दूधको दुई जोन निर्धारण गरिएको थियो । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चितवनमा चालू आर्थिक वर्षमा दुई जोन थप्न लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, चितवनले बताएको छ । गतवर्ष भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा दूध जोन निर्धारण गरिएको थियो ।
विज्ञ केन्द्रका प्रमुख सुशील केसीले प्रदेशले दुई जोन थप्ने र सो क्षेत्रमा दूध बढी उत्पादन गर्ने किसानलाई रू. ८० हजारसम्म प्रोत्साहन रकम उपलब्ध गराइने बताए । ‘स्थानीय पालिका, जिल्ला समन्वय समिति, विज्ञ केन्द्रका प्रतिनिधिहरूले दूध बढी उत्पादन हुने क्षेत्र हेरेर जोन निर्धारणका लागि प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई पत्राचार गर्नेछन्,’ उनले भने ।
कार्यविधि अनुसार दैनिक ३० हजार लिटर दूध उत्पादन भइरहेको क्षेत्रलाई जोन निर्धारणका लागि सिफारिश गरिनेछ । ‘भरतपुर र रत्ननगरमा दुईओटा जोन छन्, अब अन्य पालिकामा दूध उत्पादनको परिमाण पुग्यो भने त्यहाँ जोन थप्न सिफारिश गर्नेछौं,’ केसीले भने ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बागमती प्रदेशद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन निर्धारण हुने उनको भनाइ छ । गतवर्ष भरतपुरका सात वडा र रत्ननगरका ११ वडालाई दूध जोन निर्धारण गरिएको थियो । दूध उत्पादन बढाउनकै लागि प्रदेशले जोन थप्न लागेको हो ।
‘दूध जोनमा दैनिक ५० लिटर वा त्योभन्दा बढी दूध उत्पादन गर्ने किसानले प्रोत्साहनबापत रकम पाउँछन्,’ विज्ञ केन्द्रका प्रमुख केसीले भने, ‘गतवर्ष भरतपुर र रत्ननगर जोनका ९९ जना किसानले प्रोत्साहन रकम पाएका थिए ।’ प्रदेश सरकारले गतवर्ष तोकिएको परिमाणमा दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहनस्वरूप रू. ७७ लाख ९० हजार वितरण गरेको छ ।
विज्ञ केन्द्रका अधिकृत भीमदत्त भट्टले गतवर्ष भरतपुरका ५० किसानले रू. ३९ लाख ८५ हजार र रत्ननगरका ४९ जना किसानले रू. ३८ लाख ५ हजार प्रोत्साहन रकम पाएको बताए । उनले भने, ‘दैनिक ५० लिटर दूध उत्पादन गर्ने किसानले वार्षिक रू. ७५ हजार र त्योभन्दा बढी उत्पादन गर्नेले रू. ८० हजार पाएका छन् ।’
विज्ञ केन्द्रका अनुसार चितवनमा यस वर्ष दूधका चारओटा जोन सञ्चालन हुनेछन् । प्रोत्साहन रकम पनि वितरण गरिनेछ । विज्ञ केन्द्रका प्रमुख केसीले दूध जोन निर्धारणपछि सो क्षेत्रमा २० प्रतिशतसम्म दूध उत्पादन बढेको बताए ।
गत वैशाखदेखि असार दोस्रो सातासम्म किसानका घरघरमै पुगेर संकलित दूधको परिमाण हेरेर प्रोत्साहन रकम वितरण गरिएको थियो । दूध उत्पादन बढे/नबढेको हेर्न बागमती प्रदेशबाट सामाजिक परिचालक समेत खटिएका थिए ।
नयाँ दूध जोनमा किसानलाई प्रोत्साहनका लागि बागमती प्रदेश सरकारको कृषि मन्त्रालयले रू. ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै पुराना जोनका लागि रू. १५ लाख विनियोजन गरेको विज्ञ केन्द्रले बताएको छ ।