भक्तपुरमा उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै काङ्ग्रेस नेताले छाडे पार्टी

स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै नेपाली काङ्ग्रेसका एक नेताले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । काङ्ग्रेसको तर्फबाट सूर्यविनायक नगरपालिकामा मेयरको आकाङ्क्षी रहेका नारायणभक्त खायमलीले पार्टीको जिम्मेवारी त्याग गरेका हुन् । उनले आजै स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।  रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘राजनीतिमा देखिएको विकृति हटाउन मैले उम्मेदवारी दिएको हुँ ।’  २०४६ सालदेखि पार्टीमा सक्रिय हुँदा समेत कुनै मूल

सम्बन्धित सामग्री

सहज छैन नेपाली कांग्रेसलाई मोरङमा, के फर्काउला कोइराला परिवारको विरासत ?

नेपाली कांग्रेस, कोइराला परिवार र मोरङ जिल्लालाई कतिपयले एकअर्काका पूरकमा रूपमा हेर्ने गरेका छन्। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो।लामो समय आफ्नो दलको र २०६२/२०६३ सालको जनआन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले आफ्नो गृहनगरलाई उच्च महत्त्व दिएको देखिन्थ्यो।परम्परागत रूपमा नै कांग्रेसको उल्लेख्य राजनीतिक प्रभाव रहेको मोरङमा पछिल्ला निर्वाचनहरूमा उक्त दलले नराम्रो पराजय भोग्दै गएको छ।कतिपय विश्लेषकले त्यहाँ कांग्रेसको किल्ला तोडिएको र कोइराला परिवारको राजनीतिक विरासत समाप्त भएको भन्दै प्रश्न समेत गर्ने गरेका छन्।यसपालि कोइराला परिवारका दुई उम्मेदवारमङ्सिर ४ गते हुने संसदीय निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा पुन: कोइराला परिवारकै सदस्य चुनावी मैदानमा छन्।मोरङ क्षेत्र नं ६ मा डा. शेखर कोइराला उम्मेदवार बनेका छन्। कांग्रेस नेत्री स्वर्गीय नोना कोइरालाका पुत्र शेखर एमालेका नेता लालबाबु पण्डितसँग दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।उनलाई २०७४ सालको निर्वाचनमा पण्डितले झिनो मतान्तरले पराजित गरेका थिए।यसपालि कोइराला आफ्नो गृहनगरमा गुमेको कांग्रेसको साख फर्काउनले दाउमा छन् भने पण्डित कांग्रेसको किल्ला यस पटक पनि तोड्ने कसरतमा देखिन्छन्।पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता पनि आफ्ना बुवाको राजनीतिक विरासत फर्काउने दाउमा छिन्। उनी आफ्ना पिताको चुनावी क्षेत्र मोरङ क्षेत्र नं २ बाट उम्मेदवार बनेकी छन्।यसअघिको चुनावमा उक्त क्षेत्रमा मात्रै कांग्रेसले चुनाव जितेको थियो।मोरङमा प्रतिनिधिसभामा ६ र प्रदेशसभामा १२ वटा निर्वाचन क्षेत्र छन्।अघिल्लो निर्वाचनमा नेकपा एमालेले मोरङका तीनवटा क्षेत्रमा जित हासिल गरेको थियो।एमालेसँग तालमेल गरेका माओवादी केन्द्रका उम्मेदवारहरूले दुईवटा निर्वाचन क्षेत्रमा जितेका थिए।फेरिएको समीकरणमोरङका अधिकांश चुनावी क्षेत्रमा चिरपरिचित प्रतिस्पर्धी भए पनि यस पटक राजनीतिक समीकरण फेरिएको छ।अघिल्लो चुनावमा नेकपा एमाले र माओवादीले बनाएको वाम गठबन्धन यसपालि भत्किएकाले त्यसको प्रभाव यहाँको निर्वाचन पनि पर्ने देखिन्छ।हाल सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलबीच चुनावी गठबन्धन रहेकाले आफ्ना उम्मेदवारलाई यस पटक सहज हुने अपेक्षा कांग्रेसका कतिपय नेताले गरेका छन्।तर गठबन्धनका कारण कतिपय आकाङ्क्षीहरूले टिकट नपाएका कारण देखिएको असन्तुष्टि र पार्टीभित्रको आन्तरिक गुटबन्दी आत्मघाती हुने सक्ने कतिपयको बुझाइ पाइन्छ।विरासत फर्किएला कि नफर्किएला?पछिल्लो कांग्रेस महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिएका डा. शेखर कोइरालाको भावी राजनीतिका लागि पनि यो चुनाव महत्त्वपूर्ण हुने ठानिएको छ।राजनीतिक विश्लेषक गिरीश भट्टराई मोरङमा कांग्रेस र कोइराला परिवारको साख पुन: फर्किन सक्ने ठान्छन्।उनी भन्छन्, 'कांग्रेसको नवौँ महाधिवेशनअघि एउटा केन्द्रीय सदस्यको रूपमा मात्र रहेका डा. शेखर कोइरालाको राजनीतिक उचाइ महाधिवेशनपछि निकै माथि पुगेको छ।काङ्ग्रेसभित्रका ४० प्रतिशत नेता तथा कार्यकर्ताको नेतृत्व गर्ने हैसियतमा उनी पुगेका छन्।चुनाव जितेर संसद्‌मा पुगेको अवस्थामा उनको राजनीतिक हैसियत अझै बढ्न सक्ने तर्क विश्लेषक भट्टराईको छ।उनले भने, 'उनको उम्मेदवारी र सम्भावनाका कारण गृहजिल्ला मोरङमा कांग्रेसले गुमाएको साख फर्काउन मद्दत पुग्छ जस्तो लाग्छ।'तर अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य विरासतको राजनीति अब समाप्त हुँदै गएको बताउँछन्।उनी भन्छन्, 'दक्षिण एशियाबाटै वंशसत्ता हराउँदै गएको सन्दर्भमा नेपालमा पनि त्यस्तै हुँदै गएको देखिएको छ। पहिला विगत हेरेर राजनीति हुन्थ्यो अब क्रमभङ्ग हुदैछ, भविष्य हेरेर राजनीति गर्नेहरू मात्र सफल हुन्छन्।'विराटनगर महानगर समेत समावेश भएको मोरङ ६ नं निर्वाचन क्षेत्रबाट चुनाव उठेका कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले भने आफू विरासतमा विश्वास नगर्ने बताउने गरेका छन्।विगतको परिणामबहलुदलीय व्यवस्था पुनर्बहाली भएपछि २०४८ सालयता भएका संसदीय निर्वाचनहरूमा मोरङ जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेबीच दह्रो प्रतिस्पर्धा देखिन्छ।विक्रम संवत् २०४८ को चुनावमा दुवै दलले तीन-तीनवटा सीट जितेका थिए भने २०५१ सालको मध्यावधि चुनावमा नेपाली कांग्रेसले तीन र एमालेले चार सीट जितेका थिए।विक्रम संवत् २०५६ को कांग्रेस र एमालेले तीन-तीन र नेपाल सद्‌भावना पार्टीले एक क्षेत्रमा जितेका थिए।तर २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले एकछत्र जितेको बेला कांग्रेस सातमध्ये एउटा क्षेत्रमा मात्र विजयी भएको थियो।उक्त चुनावमा माओवादीले चार र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले चार-चार क्षेत्रमा जित हात पारेका थिए।तर २०७० सालको संविधानसभा चुनावमा नौवटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा विजयी भएको कांग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सीट मात्रै जित्न सक्यो।अघिल्लो चुनावमा मोरङ क्षेत्र नं २ बाट कांग्रेस नेता मीनेन्द्र रिजाल आफ्ना प्रतिस्पर्धीलाई झन्डै २,००० मतान्तरले हराएर निर्वाचित भएका थिए।उक्त चुनावमा कोइराला परिवारको विरासत थाम्ने ठानिएका डा. शेखर कोइराला र लामो समयदेखि मोरङमा राजनीति गरेका पूर्वअर्थमन्त्री महेश आचार्यको पराजयले कतिपयलाई आश्चर्यमा पारेको थियो।चुनौती के छन् ?यस पटकको चुनावमा आचार्य र रिजाल उम्मेदवार छैनन्। उनीहरूले टिकट नपाउँदा कतिपय नेता तथा कायकर्तामा असन्तुष्टि देखिएको छ।यसअघि क्षेत्र नं २ बाट विजयी भएका नेता रिजालले पार्टी सभापतिले टिकट वितरणका क्रममा आफूप्रति पूर्वाग्रह राखेको सार्वजनिक रूपमा नै बताएका छन्।कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच टिकट वितरणदेखि समानुपातिक सूची तयार पार्दासम्म मतभिन्नताहरू प्रकट भएका विवरण आएका थिए।तर कुनै विवाद नरहेको सन्देश दिने प्रयासमा हालै नेता कोइरालाले पार्टी सभापति र आफूबीच कुनै किसिमको मतभिन्नता नरहेको बताएका थिए।मोरङको संसदीय चुनावमा प्राप्त हुने परिणामले कोइराला परिवारका दुई सदस्यको मात्रै नभई नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा समेत महत्त्वपूर्ण प्रभाव पार्ने कैयौँको विश्लेषण पाइन्छ। -बिबिसीबाट

मतदान शान्तिपूर्ण र उत्साहजनक

काठमाडौं । निर्वाचन आयोगले शुक्रवारको स्थानीय तह सदस्य निर्वाचनको मतदान छिटफुट अप्रिय घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले केही ठाउँमा विवाद उत्पन्न हुँदा मतदान रोकिएको बताए । मतदान स्थगनसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । ‘अधिकांश स्थानमा मतदान सम्पन्न भएको छ,’ उनले भने । उनले साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई भोट खसाल्न दिइने भएकाले कुल खसेको मतको यकिन संख्या प्राप्त हुन बाँकी रहेको बताए । वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको प्रवक्ता पौडेलको भनाइ छ । उनका अनुसार शुक्रवार रातिदेखि नै मतगणना शुरू भएको छ । मतगणना शुरू हुनुअघि निर्वाचन अधिकृतका कार्यालयहरूमा सर्वदलीय बैठक बसेको थियो । केही केन्द्रमा भने विवाद देखिएकाले मतगणना शुरू गर्न ढिलाइ भएको निर्वाचन कार्यालयहरूले बताए । आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदान केन्द्रमा विवादले मतदान अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुन: मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्ने प्रवक्ता पौडेलले बताए । प्रहरीका अनुसार मतदानका क्रममा केही ठाउँमा झडप र विवाद तथा केही ठाउँमा कुटपिटका घटनासमेत भएका छन् । प्रहरीले पनि समग्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट अप्रिय घटना भए पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न ५ : ०० बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार ३० भन्दा बढी जिल्लामा ११० अप्रिय घटना भएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ । विवादका कारण अवरुद्ध ४० मतदान केन्द्रमा पछि विवाद सुल्झाएर मतदानलाई निरन्तरता दिइएको थियो । काभ्रे, सप्तरी, सर्लाहीलगायत केही केन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त भएको प्रवक्ता केसीले बताए । केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए । हुम्लाको एक ठाउँमा अश्रुग्यास प्रहार भएको छ । सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्नुपरेको थियो । वागमती प्रदेशको काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोड भएका छन् । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ । प्रदेश–२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका–२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको छ । प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि दर्शाउँदै ढुंगामुढा गरेपछि मतदान रोकिएको हो । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो । त्यसैगरी, महोत्तरीको बलुवा–५ को मतदान केन्द्रमा पनि प्रहरीले हवाई फायर गरेको छ । रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं–५ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको हो । सबै स्थानीय तह निर्वाचनको मतदान शुक्रवार एकै चरणमा गरिएको हो । यसअघिको स्थानीय निर्वाचनको मतदान २०७४ सालमा तीन चरणमा भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि २०५४ सालमा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो । शुक्रवार देशभरका १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजे एकसाथ मतदान शुरू भएको थियो । यो चुनावमार्फत ७५३ स्थानीय तहका ३५ हजार २२१ जनप्रतिनिनिधि निर्वाचित हुनेछन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख, त्यत्ति नै संख्यामा उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीवारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् । १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए । त्यसमध्ये ३९० जना निर्विरोध भएका छन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराए । निर्वाचनमा १ लाख ९ हजार ८८ कर्मचारी खटाइएको थियो । ६५ हजार ८६५ स्वयंसेवक र ५ हजार पर्यवेक्षक तथा २ लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए । नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्त्वपूर्ण अधिकार दिइएको छ । त्यही अधिकार प्राप्त भएका कारण गाउँठाउँको विकासका लागि संघको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफै निर्णय गरेर कार्यान्वयन गर्न सक्छ । स्थानीय तह आफैमा सरकार र संसद् पनि हो । परिचित जनप्रतिनिधि हुने र समुदायले निर्धक्क कुरा राख्न सक्ने हुँदा आमनागरिक विभिन्न समस्या हुँदाहुँदै पनि निर्वाचनमा सहभागी भए । कोही लौरे टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्विल चेयरमा बसेर पनि मतदान गरे भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो । कतिपय ठाउँमा किरियापुत्रीले पनि मतदान गरेका छन् । शीर्ष नेताले कहाँबाट मतदान गरे ? प्रधानमन्त्री शेरबहादुर देउवाले डँडेलधुराको गन्यापधुरा गाउँपालिका केन्द्रबाट मतदान गर्नुभएको छ । त्यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट मतदान गरेको खबर छ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका पुगेर मतदान गरे । सभामुख अग्निप्रसाद सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी पुगेर मतदान गरेका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१, लोकन्थलीस्थित उपस्वास्थ्य चौकी केन्द्रमा मतदान गरे ।