काठमाडौं (अस) । दक्षिण कोरियाको अन्तरराष्ट्रिय सहयोग निकाय (कोइका)ले अस्पतालजन्य फोहोर व्यवस्थापनका तीन स्वास्थ्य परियोजना साझेदारलाई आफ्नो केओभी कार्यक्रममार्फत सहायता उपलब्ध गराएको छ । कोइकाले भक्तपुरको नेपाल–कोरिया मैत्री नगर अस्पताल, नुवाकोट जिल्ला अस्पताल र टीकापुर अस्पताललाई अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि मेशिन उपलब्ध गराएको हो । यो कार्यक्रमको कुल बजेट ४२ हजार २०० अमेरिकी डलर रहेको छ । मंगलवार नेपाल–कोरिया मैत्री नगर अस्पतालमा उक्त मेशिन हस्तान्तरण कार्यक्रम भएको थियो । सो कार्यक्रममा मध्यपुरथिमीका मेयर मदनसुन्दर श्रेष्ठ, कोइकाका नायव देशीय निर्देशक योन्ही चुङ र उक्त अस्पतालका प्रतिनिधिहरूको उपस्थिति थियो ।