नेपालमा सञ्चालनमा रहेका उद्योगहरू सामान्य बेलामा त समस्यामा थिए नै, कोरोनाका कारण थप समस्यामा परेका छन् । आत्मनिर्भरको सूचीमा राखिएको जुत्ताको निर्यात ह्वात्तै घटेको छ भने आयात बढेको छ ।
यसले नेपालको औद्योगिक विकासको अवस्था कस्तो छ भन्ने स्पष्ट संकेत दिइरहेको छ । साथै, उद्योगका समस्यामा सरकार संवेदनशील छैन भन्ने पनि यसले उजागर पार्दछ । विगत ४ वर्षदेखि नेपालमा उत्पादित जुत्ताको निर्यात बढ्दै गएको र विदेशी जुत्ताको आयात बढिरहेको सन्दर्भमा गत आवमा निर्यात ६० प्रतिशतले घट्यो भने ३५ प्रतिशतले वृद्धि भयो । आव २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार जोर जुत्ता निर्यात भएकामा गत आव २०७७/७८ मा घटेर २२ लाख ७४ हजार थानमा खुम्चन पुग्यो । २०७६/७७ मा २० लाख जुत्ता आयात भएकामा ७७/७८ मा १० लाख ९८ हजार जोर जुत्ता आयात भएको छ ।
यो एउटा नमूना हो कोभिडले नेपालका उद्योगहरूलाई कत्तिको प्रभावित गरेको छ भन्ने सन्दर्भमा । जुत्ता उद्योग मात्र होइन, नेपालका धेरैजसो उद्योगले भोगिरहेका समस्या उस्तै छन् । सरकारले औद्योगिक उत्पादन बढाउने भनेर बजेट वक्तव्यमा जति नै उल्लेख गरे पनि वा कार्यनीति र रणनीति तय गरे पनि उद्योगहरूले भोग्नुपरिरहेका समस्यालाई सम्बोधन नगरेसम्म औद्योगिक विकास बहसको विषयमात्रै हुनेछ । नेपालको औद्योगिक विकास हुन नसक्नुमा जुत्ता उद्योग एउटा केस स्टडीको विषय हुन सक्छ ।
सरकारले औद्योगिक उत्पादन बढाउने भनेर बजेट वक्तव्यमा जति नै उल्लेख गरे पनि वा कार्यनीति र रणनीति तय गरे पनि उद्योगहरूले भोग्नुपरिरहेका समस्यालाई सम्बोधन नगरेसम्म औद्योगिक विकास बहसको विषयमात्रै हुनेछ ।
आयात बढ्नु र निर्यात घट्नुमा जुत्ता उत्पादनको परिमाण घट्नु एउटा प्रमुख कारण उद्योगीहरूले मानेका छन् । कोरोनाका कारण भारतीय कामदार नहुँदा उत्पादन गर्न नसकिएको उद्योगीहरूको भनाइ छ । त्यसैले यो जुत्ता उद्योग पुनःस्थापित भए पनि यसले सृजना गरेको रोजगारीमा नेपाली नहुनु विडम्बना नै हुनेछ । सबैजसो उद्योगले यस्तो समस्या भोगेको पाइन्छ । एकातिर रोजगारी नपाएर युवाहरू विदेशिनुपर्ने र अर्कातिर उद्योगहरूले कामदार नभपाएर विदेशीलाई ल्याउनुपर्ने बाध्यता अहिले देखिएको छ । यसबाट नेपाली कामदारले तालीम पाएका छैनन् वा नेपालीहरू यो काम गर्न रुचाउँदैनन् भन्ने देखाउँछ । कोरोनाबाट थलिएका उद्योगहरू पुनरुत्थान हुने क्रम शुरू भएको छ । यही चरणमा नै कामदारको यो समस्यामा सुधार गर्दै जान सकिए उद्योग पुनःस्थापित हुँदा समग्र मुलुकका लागि लाभदायी अवस्था सृजना हुन सक्छ ।
जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्नुपर्ने र त्यसमा सरकारले भन्सार लिने गर्दा उद्योगहरू समस्यामा परेका छन् । कतिपय वस्तुमा त तयारी सामानमा भन्दा कच्चा पदार्थमा बढी भन्सार छ । धागो, कागज आदि उद्योगले यो समस्या भोगिरहेका छन् ।
जुत्ता उत्पादनका लागि आवश्यक धेरैजसो कच्चा पदार्थ नेपालमै उपलब्ध हुन सक्छ वा बनाउन सकिन्छ । नेपालमै छाला प्रशोधन कारखाना छन् भने सोल पनि नेपालभित्र बनाउन सकिन्छ । तुनालगायत धेरै वस्तु नेपालमै बनाउन सकिनुपर्ने हो । यहीँ बनाउन सकिने वस्तुका सहउद्योगहरू पनि खोल्नुपर्छ । अन्य उद्योगका हकमा पनि यस्तो रणनीति भएमा नेपाली उत्पादनको फाइदा नेपालले पाउँछ ।
जुत्ता उद्योगले समस्या भोग्नुमा कोरोनामात्र दोषी छैन, समस्याको व्यवस्थापनमा नेपालको कमजोरी बढी दोषी छ । बन्दाबन्दी वा निषेधाज्ञाका बेलामा नेपालका उद्योगहरूले काम गर्न पाएनन् । भएका कामदार पनि काम गर्न जान पाएनन् । कोभिडका बेलामा अर्थतन्त्रलाई जसरी व्यवस्थापन गर्नुपर्थ्यो त्यो हुन सकेन । यसको अर्को उदाहरण तरकारीलाई लिन सकिन्छ । बन्दाबन्दीका बेलामा नेपाली उत्पादन खेर जाने अवस्था आयो । किसानहरूको उपजलाई बजारसम्म पुर्याउने व्यवस्था गरिएन । तर, विडम्बना भारतीय तरकारी भने निर्बाध आयात भइरहे । यस्तो समस्या अझै पनि नेपाली उद्योगहरूले भोगिरहेको अवस्था छ ।
सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिएको छ तर ती नीतिमा व्यावहारिकता पाइँदैन । व्यवसायीका गुनासा नसुन्ने सरकारी संयन्त्रका कारण भएका उद्योगहरू कमजोर हुँदै आएका छन् । अझै पनि यही प्रवृत्ति रहे थप उद्योगहरू समस्याग्रस्त हुँदै जाने सम्भावना बढी देखिन्छ । यस्तोमा आत्मनिर्भर अर्थतन्त्र व्यर्थको नारा सीमित हुने देखिन्छ ।