काठमाडौं (अस) । सानिमा बैंक र दृष्टिहीनताको क्षेत्रमा कार्यरत संस्था नेपाल नेत्रज्योति संघबीच सम्झौता भएको छ । दृष्टिसम्बन्धी समस्याको क्षेत्रमा सहकार्य गरी सहयोग गर्नेबारे दुवै संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र संघका अध्यक्ष प्राडा. चेतराज पन्तले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आँखा सम्बन्धी उपचारमा आर्थिक सहयोग गर्ने सम्झौतामा उल्लेख छ । बैंकका अनुसार सो प्रदेशहरूमा आँखाको उपचारका लागि आवश्यक उपकरण खरीदका लागि समेत आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
विगतमा पनि दृष्टिसम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणका लागि संघसँग सहकार्य गरिँदै आएको बैंकले बताएको छ । पछिल्लो समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।