काठमाडौं । शुक्रवार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाइ गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौं वनस्थलीका मानसिंह विष्ट ।
यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटिक्कै मन छैन । तर उनले रोक्न पनि सकेनन् । निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए ।
‘विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन । आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु पर्यो,’ विष्टले सुनाए । आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको उनलाई थाहा छ । मत दिने मन त उनलाई पनि छ । तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाइ नगरी उनी घरमै बस्न सकेनन् ।
‘छोरा घर फर्केर आउँदा खुशी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दो रहेछ,’ भावुक हुँदै उनले भने, ‘यो बाध्यतालाई देश बनाउँछु भन्नेहरूले बुझिदिए कति राम्रो हुन्थ्यो होला ।’ स्थानीय निर्वाचनका कारण सवारीसाधन नचलेकाले धेरै टाढा टाढादेखि अनेकौं दु:ख गरेर विमानस्थल आइपुगेको बताउनेहरू धेरै थिए । तर, विमानस्थलमा अन्य दिनभन्दा शुक्रवार चाप कम थियो ।
हरेक दिन सपना बोकेर उड्नेहरू कोही सकुशल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर । रोजगारीको खोजीमा भौतारिएकाहरू मलीन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ ।
औपचारिक तथ्यांकका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिन्छन् । श्रम र पसिना विक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ । विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धरमराउन लागेको तथ्य पनि हाम्रा सामु छ । धेरै मानसिंहले बुढेसकालका सहारालाई विदेश पठाएर प्रतीक्षाका दिनहरू गनेर बसेका छन् ।
निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि शुक्रवार राति १० बजे कतार उडन लागेका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुशी थिएन । उनको काका नै नगर प्रमुखको उम्मेदवार छन् । ‘देशभित्र रोजगारी छैन, खानुपर्यो परिवार पाल्नुपर्यो, निर्वाचन भनेर बस्ने अवस्था रहेन,’ उनले भने, ‘म र म जस्ताको दु:ख सम्बोधन गर्नेगरी यसपटकको निर्वाचनले नेतृत्व छानिदिए अर्कोपटक म पनि विदेश जान्न थिएँ ।’
बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर धनुषाबाट संघीय राजधानी आइपुगेका यादव निराश देखिन्थे । ‘परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ,’ उनले भने । पाँच महीनाको छुट्टी लिएर आएका यादव कतारमा टाइम किपरको काम गर्छन् ।
विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने गरी निर्वाचित हुनेले काम गरिदिए आफूलाई असाध्यै खुशी लाग्ने उनले बताए ।
एउटै समूहमा भेटिए मोरङ उर्लाबारीका अशोक राउत, झापा हल्दीबारीका गंगा कटुवाल र उदयपुरका नगेन्द्र मगर । बिहीवारलाई दुबईको जहाज नआएपछि होटलमा बस्नुपरेको सुनाउँदै राउतले भने, ‘निर्वाचन भनेर बसेर पनि भएन । यहाँ रोजगारी छैन, कमाइ खाने बाटो छैन । यो बाध्यता छ हामीलाई ।’
बहराइनमा विगत पाँच वर्षदेखि चालकको रूपमा कार्यरत राउतले भने, ‘निर्वाचनले हामी जस्तालाई स्वदेशमै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ ।’ तीनै जनाको ‘लगेज’ एउटै ट्रलीमा घिसारिरहेका मगरलाई राजनीतिक नेतृत्व देश विकासभन्दा पनि व्यक्तिगत स्वार्थ सिद्धिमा लागेको कुरा पटक्कै मन परेको रहेनछ । ‘निर्वाचनको दिन विदेश उड्न त मन थिएन नि । तर, राजनीतिक नेतृत्वले कहिल्यै हामीहरू जस्ताको चाहना र आवश्यकताको सम्बोधन गर्न सकेन ।’
‘देशभित्रै रोजगारी होस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ । तर, कहिल्यै त्यो अवसर आएन,’ उनले भने । झापा हल्दीबारीका कटुवाललाई झापामा शुक्रवार भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको थियो । ट्रली धकेल्दै उनले भने, ‘निर्वाचन भनेर भएन । हाम्रो दु:ख बुझिदिने कुनै नेता भएनन् ।’ प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल भएको उनको गुनासो छ ।
सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सके विकासको शिखरमा पुग्न लामो समय कुर्नु नपर्ने उनले बताए । व्यवस्था परिवर्तन भए पनि नागरिकले संघर्ष गरेर ल्याएको राजनीतिक प्रणालीमा चरित्र भने पुरानै रहेको र नातावाद मौलाएकामा उनको आपत्ति छ ।
त्यस्तै, बुटवलका विष्णु पौडेल भने सुन्धाराको एक होटलमै राहदानी छाडेर विमानस्थल पुगेका रहेछन् । सोधखोजको क्रममा होटल सञ्चालकले राहदानी ल्याइदिने बताएपछि ढुक्क देखिएका पौडेलले पनि निर्वाचनको दिन विदेश जानु बाध्यता भएको बताए ।
विमानस्थलमा आफ्ना छोरालाई बिदाइ गर्न आएका आमाहरू पनि भेटिए । कोही श्रीमान्लाई बिदाइ गर्न लालाबाला बोकेर आएका थिए । स्थानीय तहको निर्वाचनका लागि मतदान भइरहेकै बेला विमानस्थलमा भेटिएका कोही कसैको अनुहारमा खुशी देखिँदैनथ्यो । निराश, हतास अनि मलीन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा गरेका थिए । भारी मन लिएर उड्नेहरू कति खुशी भएर फर्केलान्, कति अझै दु:ख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन । रासस