विद्युत् नियमन आयोगका अध्यक्षलाई स्पष्टीकरण बुझाउन ७ दिने म्याद, नबुझाए कानून बमोजिम कारवाही हुने

माघ २२, काठमाडौं । विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई लिखित स्पष्टीकरण बुझाउने सातदिने म्याद दिइएको छ ।  विद्युत् नियमन आयोगका पदाधिकारीहरुको कार्य क्षमता सम्बन्धमा गठित छानविन समितिले उनलाई कार्य क्षमताको अभावका कारण पदीय कर्तब्य पालना गर्न सके/ नसकेको विषयमा विद्युतीय माध्यम इमेलबाट सातदिन भित्रमा स्पष्टीकरण बुझाउन भनेको हो । साथै समितिले उक्त म्यादभित्र स्पष्टीकरण बुझाउन भन्दै अन्यथा कानून बमोजिम हुने पनि सूचनामार्फत् बताएको छ । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीहरुलाई हटाउने उद्देश्यले छानविन समिति गठन गरेको छ । आयोगका पदाधिकारीहरुको कार्य सम्पादन क्षमतामाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरिएपछि उनीहरु स्वतः निलम्बित छन् ।  मन्त्रिपरिषद्ले  हालै आयोगका पदाधिकारीहरुमाथि छानविन गर्न समिति बनाएको छ । आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, सदस्यद्वय रामेश्वर कलवार र भागीरथी ज्ञवालीको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । छानविन समितिको संयोजकमा तत्कालिन पुनरावेदन अदालतका मुख्य न्यायाधीश प्रकाश गजुरेल छन् ।  समितिको सदस्यमा पूर्वसहसचिव बिष्णु थापा र आशिष घिमिरे छन् । विद्युत् नियमन ऐन, २०७३ को दफा ९ मा पदाधिकारीमाथि छानबिन हुँदा उनीहरु स्वत : निलम्बनमा पर्ने व्यवस्था रहेको छ । 

सम्बन्धित सामग्री