लन्डन । गएको महीना बेलायतमा जीवनयापन खर्च बढेको छ । लगातार तीन महिनायता ओरालो लाग्दै आएको महँगी फेब्रुअरीमा बढेको बेलायती राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले बताएको छ । बाहिर खानपिनको खर्चमा भएको वृद्धिले खाद्यान्नको मूल्यवृद्धिका कारण जीवनयापन खर्च बढेको हो ।
फेब्रुअरीमा मुद्रास्फीति १० दशमलव ४ प्रतिशत छ । जनवरीमा यो दर १० दशलमव १ प्रतिशत थियो । खानेकुराको मूल्य ४५ वर्षयताकै उच्च दरमा बढेको छ । सलादमा प्रयोग गर्ने तरकारी आदिको मूल्य बढ्दा महँगी पुनः अकासिएको हो ।
सुपरमार्केटहरूमा गोलभेंडा, भेंडेखुर्सानी, काक्रो जस्ता केही तरकारीहरूको अभाव देखिन थालेपछि महँगी बढेको हो । चरम अभावबीच सुपरमार्केटहरूले गोलभेंडा, भेंडेखुर्सानी, काक्रोलगायतका केही तरकारी हरेक व्यक्तिलाई तीन/तीन ओटाका दरले बेच्ने नीति लिएका थिए ।
इन्धनको भाउमा भएको वृद्धि र आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण पनि अभाव चुलिएको छ । पब र रेष्टुराँहरूमा रक्सीको भाउमा भएको वृद्धिका कारण पनि महँगी बढेको छ ।
जनवरीमा रक्सी छूटमा बेचिएको थियो । लत्ताकपडा विशेषगरी बालबालिका र महिलाहरूको पोशाकमा भएको मूल्य वृद्धिले पनि महँगी बढाएको बताइएको छ । एजेन्सी