उत्तरी म्याग्दीमा दुई लेनको सुरूङमार्ग निर्माणको लागि अध्ययन शुरु

पुस ७, म्याग्दी । पटकपटक कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकोटमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकखण्डमा कालिगण्डकी नदीको धार नै परिवर्तन भएपछि कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले करीब ३०० मिटर सुरुङमार्ग निर्माण गर्ने निष्कर्षमा पुगी अध्ययन शुरु गरेको छ । अन्नपूर्ण–१ दोबाको सुनारी गाउँ हुँदै बग्ने ठाडो खोलाको बेगको असरले हरेक वर्ष तीव्ररुपमा भइरहेको कटानका कारण थप चट्टान काट्न असम्भव जस्तै भएपछि सुरूङमार्गको आवश्यकता देखिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । ‘सुरुङमार्ग बनाउन तीन वर्ष अगाडि नै प्रारम्भिक अध्ययन गरिएको थियो, यस वर्ष उच्च प्राथमिकतामा राखी फेरि अध्ययन अगाडि बढाइएको छ’, प्रमुख प्रजापतिले भने । बेनी–जोमसोम सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण स्थानमध्येमा पर्ने भिरकोटको समस्या समाधानको उपयुक्त विकल्प नै सुरुङमार्ग भएको प्रमुख प्रजापतिको भनाइ छ । एक मिटर सुरूङमार्ग बनाउन रू. १७ लाख अनुमान गरिएकाले करीब रू. ५० करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । ‘लागत अझै पनि थपघट हुनसक्छ, सवारीसाधन आउन र जानका लागि दुई ओटा लेन हुनेछ’, प्रमुख प्रजापतिले भने । सुरुङमार्ग दोबा गाउँ जाने बेलिब्रिज नजिकको पहाडबाट पोखरेबगरतर्फको सडकखण्डमा छुने गरी बनाइने सुरुङमार्ग सवारीसाधन आवतजावत गर्ने मिल्ने गरी दुई लेनको ११ मिटर फराकिलो हुनेछ । सडकखण्डको म्याग्दीतर्फ नदी कटान, प्राकृतिक विपत्तीलगायतका कारण ढिलाइ भइरहेकाले अति जोखिम स्थानमा खर्चिलो विकल्पको प्रयोग गरेर भए पनि स्तरोन्नतिको काम अगाडि बढाउने नेपाल सरकारको योजना छ । रू. सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको १८६ किमी दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्मरू. चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले बताए । बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भएको छ । १३ ओटा खण्डअन्तर्गत आयोजनाको कार्यक्षेत्र बागलुङ र पर्वतको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ । म्याग्दी खण्डमा डिबिएसडी र मुस्ताङमा आक्सपाल्ट प्रविधिको कालोपत्र भइरहेको छ । सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १ दशमलव २ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्रयाक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ५० टन विष्फोटक पदार्थको प्रयोग गरिने र थप १० टनका लागि आवश्यक प्रक्रियामा रहेको आयोजनाले जानकारी दिएको छ । रासस