सनराइज फर्ष्ट र सनराइज ब्लूचिप फण्डको न्याभ बढ्यो

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्ष्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार यी दुवै फण्डको न्याभ बढेको छ । सनराइज फर्ष्ट म्युचुअल फण्डको न्याभ मङ्सिर मसान्तसम्ममा रू. ११ दशमलव ३९ रहेकोमा पुस मसान्तसम्ममा बढेर रू. १२ दशमलव ३९ पुगेको हो । त्यस्तै सनराइज ब्लूचिप फण्डको न्याभ मङ्सिर मसान्तसम्म रू. ८ दशमलव ७८ रहेकोमा पुस मसान्तसम्ममा बढेर रू. ९ दशमलव ६५ पुगेको हो । त्यस्तै नाफासँगै यी दुवै फण्डको नाफामा पनि सुधार आएको छ । मङ्सिर मसान्तसम्म नोक्सानीमा रहेका दुवै फण्ड पुस मसान्तसम्ममा नाफामा गएका छन् ।  मङ्सिर मसान्तसम्म रू. १ करोड ६६ लाख नोक्सानीमा रहेको सनराइज फर्ष्ट म्युचुअल फण्ड पुस मसान्तसम्ममा रू. ६ करोड ९६ लाख नाफामा गएको हो । फण्डले पुस मसान्तसम्म सूचीकृत शेयरमा रू.६१ करोड ९८ लाख लगानी गरेको छ । यो लगानी मङ्सिर मसान्तसम्म रू. ५८ करोड ६१ लाख थियो ।  त्यस्तै सनराइज ब्लूचिप फण्डले पुस मसान्तसम्म रू. १० करोड ३३ लाख नाफा कमाएको छ । फण्ड मङ्सिर मसान्तसम्म भने रू. ५२ लाख ८१ हजार नोक्सानीमा थियो । फण्डले पुस मसान्तसम्म सूचीकृत शेयरमा रू. ७४ करोड ६० लाख लगानी गरेको छ । यो लगानी मङ्सिर मसान्तसम्म रू. ६५ करोड ८८ लाख मात्र थियो ।