मर्जर र प्राप्ति प्रयोजनका लागि नेप्सेले रोक्यो आठ कम्पनीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आठ कम्पनीहरूको शेयर कारोबार रोक्का गरेको छ । मर्जर र प्राप्ति प्रयोजनका लागि नेप्सेले लक्ष्मी बैंक, सन्राइज बैंक, नेशनल माइक्रोफाइनान्स, समीट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, प्रभु लाइफ, विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो । नेपाल धितोपत्र बोर्डले मर्जर र प्राप्ति प्रयोजनका लागि गरेको पछिल्लो व्यवस्था बमोजिम मर्जर प्रयोजनका लागि मर्जरमा जाने सबै कम्पनी र प्राप्ति प्रयोजनका लागि प्राप्ति हुने कम्पनीको मात्र शेयर कारोबार रोक्का हुनेछ । सोही व्यवस्था बमोजिम प्राप्ति प्रयोजनका लागि आशा लघुवित्तले प्राप्ति गर्न लागेको राष्ट्र उत्थान लघुवित्तको मात्र शेयर कारोबार रोक्का भएको हो भने बाँकी सात कम्पनीको मर्जर प्रयोजनका लागि कारोबार रोकिएको हो । प्रभु लाइफसँग मर्जरमा गएको महालक्ष्मी लाईफ इन्स्योरेन्स भने दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । नेप्सेले लक्ष्मी बैंक,सन्राइज बैंक र प्रभु लाइफको असार २९ गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरेको छ । लक्ष्मी बैंक र सन्राइज बैंक तथा प्रभु लाइफ र महालक्ष्मी लाइफले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गरेसँगै शेयर कारोबार रोकिएको हो । त्यस्तै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तले असार ३० गतेदेखि एकिकृत कारोबार सुरू गर्दैछन् । यसर्थ असार ३० गतेदेखिनै लागू हुने गरी यी दुई सूचीकृत कम्पनीको शेयर कारोबार समेत नेप्सेले रोकेको छ । राष्ट्र उत्थान लघुवित्त र आशा लघुविले प्राप्ति प्रक्रिया पुरा गरी असार ३१ गते एकिकृत कारोबार सुरू गर्दैछन् भने विजय लघुवित्त र सारथी लघुवित्तले समेत असार ३१ गतेदेखिनै एकिकृत कारोबार अघि बढाउन लागेका छन् । यी चार कम्पनीको शेयर कारोबार असार ३१ गतेदेखि लागू हुने गरी नेप्सेले रोक्का गरेको हो । यी कम्पनीहरूको शेयर कारोबार रोक्का भएको मितिदेखि बढीमा १५ कारोबार दिनमात्र रोक्का हुनेछ । मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय शेयर कारोबार रोक्का हुन थालेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कमार हमालको विशेष पहलमा मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ गत कात्तिक २४ गतेदेखि लागू गरिएको हो । उक्त निर्देशिकामा एकिकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र कारोबार रोक्का हुने व्यवस्था छ । सो व्यवस्था लागू भएपछि लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । त्यस अघि कम्पनीहरूले मर्जर तथा प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झौता गरेसँगै रोक्का शेयर कारोबार एकिकृत कारोबार भई दोस्रो बजारमा शेयर सूचीकृत हुदाँसम्म रोक्का हुने व्यवस्था थियो । जसका कारण वर्षौ सम्म शेयर कारोबार रोक्का हुने समस्या थियो ।  कारोबार रोक्का रहेका कम्पनी