यतिखेर देशभरि नै सरकारले कामै गरेन, कुन कामलाई तत्काल गर्नुपर्ने हो त्यतातिर ध्यान गएन भनेर चौतर्फी निराशा छाएको पाइन्छ । हुन पनि बढ्दो भ्रष्टाचार, महँगी, सरकारी सेवालगायत सुशासनको समग्र पक्षलाई हेर्ने हो भने आमसर्वसाधारणको वितृष्णाप्रति असहमति हुने ठाउँ छैन ।
यति हुँदाहुँदै पनि देशमा व्याप्त विकृति सुधार गर्न केही न केही प्रयास भने भइरहेको देखिन्छ । खासगरी भ्रष्टाचारका ठूलाठूला फाइल खोल्ने प्रयास गरिएको छ । तीमध्येको एउटा उदाहरणको रूपमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनालाई लिन सकिन्छ ।
उक्त घटनामा संलग्न भएको आरोपमा पटकपटक शासन सत्तामा पुगेका पहुँचवाला व्यक्ति पक्राउ परिसकेका छन् । अझैं अन्य उपल्लो तहका व्यक्तिहरू उक्त घटनामा संलग्न रहेको अनुमान गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भनिएको भ्रष्टाचारको खण्डन गर्दै अडिट रिपोर्ट सार्वजनिक गर्न सकिने बताउनुभएको छ ।
प्रधानमन्त्रीले साँच्चिकै उक्त घटनाको अडिट रिपोर्ट सार्वजनिक गर्नुभयो भने आमजनताले चित्त बुझाउन सक्छन्, जुन कुरा सकारात्मक हो । विगतमा नेपालमा भ्रष्टाचार र सुशासनसँग जोडिएका थुप्रै घटना सार्वजनिक भएका छन् । कहिले बालुवाटार काण्ड, कहिले ओम्नी, कहिले वाइड बडी काण्ड सार्वजनिक भएका छन् । तर, त्यस्ता घटना चर्चामा आउने र त्यत्तिकै सेलाउने गरेका छन् । दोषीलाई कारबाही नगरी त्यत्तिकै छाडिएका कारण जनतामा विृतष्णा बढेको हो ।
त्यसैले सरकारले अहिले जसरी भ्रष्टाचारका फाइल खोजेर दोषीलाई कारबाही गर्ने भनेको छ, त्यसमा कुनै पनि हालतमा कञ्जुस्याइँ गर्नु हुँदैन । प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेका सबैलाई कारबाही मात्र गर्न सक्यो भने पनि त्यसले जनतामा बढ्दो निराशा कम गर्न सहयोग पुग्छ । प्रधानमन्त्रीले लडाकू शिविरमा वितरण गरेको रकमको अडिट रिपोर्ट सार्वजनिक गर्नुभयो भने त झनै राम्रो भयो ।
अहिलेको सरकारले यस्तै २, ४ ओटा ठूला भ्रष्टाचारका फाइललाई टुंगोमा पुर्यायो भने यसपछि आउने सरकारलाई पनि केही न केही काम गर्नुपर्ने बाध्यता हुन्छ । दोषी कारबाहीमा पर्न थालेपछि गल्ती गर्दा कारबाही हुन्छ भन्ने मनोविज्ञानले काम गर्छ र यसले गर्दा आशाको सञ्चार हुन्छ । त्यसैले अहिले नै निराश नभई देशमा केही भइरहेको छ भनेर महसूस गर्नुपर्छ । कुनै पनि घटनालाई लुकाएर राख्नुभन्दा सत्यतथ्य बाहिर ल्याउनु बढी श्रेयकर हुन्छ ।