१५० प्रतिशत हकप्रद विक्रीमा लागि आँखुखोला जलविद्युतले पायो विद्युत नियमन आयोगको स्वीकृति

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर विक्री गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । जलविद्युत कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपूर्व विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिएको हो ।  यसअघि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले विद्युत् नियमन आयोगको निर्देशनबमोजिम १५० प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्न लागेको हो । गत वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । विद्युत नियमन आयोगको निर्देशन बमोजिम जेठ १७ गते अपराह्न बसेको कम्पनीको सञ्चालक समिति बैठकले अघिको निर्णय संशोधन गर्दै १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । अब कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि हकप्रद निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन पेश हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको जानकारी समेत दिएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८६ लाख ५२ हजारभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष कम नाफा गरेको हो । यस वर्ष गत वर्षभन्दा कम विद्युत् विक्री आम्दानी भएकाले कम्पनीको नाफामा असर परेको देखिन्छ । गत वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढीको विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४५ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव ४४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव २५ रहेको छ ।