२७ वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्बभन्दा बढीे, ४ ओटा बैंकको भने घट्यो

वैशाख १०, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को चैत मसान्तसम्ममा २७ वाणिज्य बैंकहरूले खुद ब्याज आम्दानीबाट १ खर्ब ९ अर्ब रुपैयाँ आर्जन गरेका छन् । गत आवको सोही अवधिको तुलनामा वाणिज्य बैंकको खुद ब्याज आम्दानी १४ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो । गत आवको चैत मसान्तसम्म २७ ओटा वाणिज्य बैंकले ९५ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।  गत आवको तेस्रो चैमाससम्मको तुलनामा चालू आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी १३ अर्ब ९७ करोड रुपैयाँ वृद्धि भएको छ । बैंकहरूको कमाईको प्रमुख स्रोतका रूपमा मानिने खुद ब्याज आम्दानी वृद्धि भएको भएपनि नाफामा भने उत्साहजनक वृद्धि हुन सकेको छैन । गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा औसत शून्य दशमलव ५४ प्रतिशत वृद्धि भएको छ ।  त्यसैगरी गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चार वाणिज्य बैंकको खुद ब्याज आम्दानी घटेको छ । खुद ब्याज आम्दानी घट्नेमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । सर्वाधिक खुद ब्याज आम्दानी घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यो बैंकको गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव शून्य ३ प्रतिशत खुद ब्याज आम्दानी घटेको छ । त्यस्तै मेगा बैंकको पनि सो अवधिमा ३ दशमलव २० प्रतिशत खुद ब्याज आम्दानी घटेको छ ।  सो अवधिमा २७ वाणिज्य बैंकहरूमध्ये खुद ब्याज आम्दनी सर्वाधिक वृद्धि सिभिल बैंकले गरेको छ । यो बैंकले गत आवको चैत मसान्तसम्मको तुलनामा खुद ब्याज आम्दानी ५९ दशमलव ३९ प्रतिशतले वृद्धि गरेको छ । गत आवको चैत मसान्तसम्म यो बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा २ अर्ब ४६ करोड रुपैयाँ उक्त शीर्षमा आम्दानी गरेको छ । यो बैंकको गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ९१ करोड रुपैयाँ वृद्धि भएको हो ।  चैत मसान्तसम्म सर्वाधिक खुद ब्याज आम्दानी एनआईसी एशिया बैंकले गरेको छ । यो बैंकले खुद ब्याज आम्दानीबाट मात्र ८ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै बढी खुद ब्याज आम्दानी गर्ने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले उक्त अवधिसम्ममा ७ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।