बजार अनुगमन जारी, प्रभाव न्यून

सरकारले नियमित बजार अनुगमन गरिरहे पनि बजारको अवस्था सुध्रिएको छैन । बरु पछिल्ला दिनमा व्यवसायिक फर्मबाट बदमासी हुने क्रम बढेको छ । अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कैफियत भेटिएमा ठुला र सानालाई एउटै प्रकृतिको जरिबाना भएकाले ठुला फर्मबाट गलत गर्ने क्रम बढेको हो । विभागको अनुगमन टोलीले सोमबार मात्रै ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेकी मिनाक्षी खाद्य उद्योगमा सिलबन्दी गरेको छ । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि विभागले उक्त उद्योगमा सिलबन्दी गरेको हो । गोप्य सूचनाका आधारमा विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा उक्त उद्योगमा अनुगमन गरी सिलबन्दी गरियो ।