स्तर सुधारका लागि नयाँ बसपार्कका टिकट काउण्टर बन्द

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर बुधवारदेखि बन्द भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तरराष्ट्रियस्तरको बनाएर सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तरराष्ट्रिय मापदण्डबाट सञ्चालन गर्न टिकट काउण्टर केही दिन बन्द गर्न लागिएको जानकारी दिए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । कम्पनीले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट विक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रह समेत गरेको छ । उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । कम्पनीका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तरराष्ट्रियस्तरको बसपार्कको रूपमा विकास गर्ने लक्ष्य लिएको बताए । ‘नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रूपमा निर्माण गर्न लागिरहेका छौं,’ उनले भने । कम्पनीले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । सरकारले लिएको नीतिअनुसार कम्पनीले कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो । ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरिएको हो । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । उक्त बसपार्कमा १ हजार ५०० सार्वजनिक सवारीसाधन पार्किङ गर्न सक्ने क्षमता छ । रासस