चितवनमा उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले कमी

जेठ १४, चितवन । चितवनमा गत वैशाख दोस्रो साता पछि गरिएको निषेधाज्ञाका कारण उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले कमी आएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार चैत महीनामा सबै उद्योग गरी ३८७ ओटा उद्योग दर्ता भएकोमा वैशाख महीनामा जम्मा १२३ ओटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योग मध्ये सबैभन्दा बढी वन तथा कृषिजन्य उद्योग रहेका छन् । जसअनुसार चैत महीनामा उक्त शीर्षकमा २५६ ओटा उद्योग दर्ता भएका थिए भने वैशाख महीनामा ८७ ओटा उद्योग दर्ता भएका छन् ।  यस्तै चैत महीनामा उत्पादनमुलक उद्योग ५३ ओटा वैशाख महीनामा १३ ओटा, चैत महीनामा सेवामूलक उद्योग ७१ ओटा र पर्यटनमूलक उद्योग ७ ओटा दर्ता भएका थिए भने वैशाख महीनामा सेवामूलक २२ ओटा उद्योग र पर्यटनमूलक उद्योग एउटा मात्र दर्ता भएको छ । दुई महीनामा उर्जामूलक उद्योग, निर्माणमूलक उद्योग र विज्ञान तथा सूचना प्रविधिजन्य उद्योग भने दर्ता भएका छैनन् ।  कार्यालयका लेखाप्रमुख नारायण लम्सालले निषेधाज्ञाले गर्दा नै उद्योग दर्ता गर्नेको संख्यामा न्यून रहेको बताए । ‘कोरोना महामारीको हल्लासँगै वैशाखको पहिलो सातादेखि नै उद्योग दर्ता गर्ने कम हुँदै गएका थिए, उनले भने, वैशाख १६ देखि त निशेधाज्ञा नै जारी भयो ।’ गतसाल भएको कोभिड महामारीको समयमा भन्दा यसपटक उद्योग दर्ता गर्नेको संख्या उल्लेख्य रहेको उनको भनाइ छ ।  अनुदानले गर्दा वनतथा कृषिजन्य उद्योगमा आकर्षण   कार्यालयमा सबै शीर्षकभन्दा बढी वन तथा कृषिजन्य उद्योगमा आकर्षण बढेको पाईएको छ । ‘कृषि क्षेत्र सरकारको प्राथमिकता परेको क्षेत्र पनि भयो, लेखा अधिकृत लम्सालले भने, यो क्षेत्रमा अनुदान र सहुलियत व्याजदर पनि उपलब्ध छ ।’ चितवन कृषि क्षेत्रको हब भएको र उत्पादन र प्रशस्त संभावना रहेकोले पनि यस शीर्षकमा बढी उद्योग दर्ता हुने गरेको उनले बताए । कार्यालयले उद्योगबाट चालू आर्थिक वर्ष वैैशाखसम्ममा ८ करोडभन्दा बढी राजस्व संकलन गरिसकेको छ ।  ‘यो आवमा ८ करोड संकलन गर्ने अनुमान थियो, अहिलेनै ८ करोड नाघिसकेको छ, उनले भने, निशेधाज्ञा नभएको भए असार मसान्त सम्म १० करोड पुग्थ्यो ।’ अबका दिनमा निषेधाज्ञा खुकुलो भएपनि उद्योग दर्ता गर्नेको संख्यामा उत्साह नहुने उनको भनाइ छ । ‘चालू आर्थिक वर्ष सकिने बेला पनि भयो, उनले भने, असारमा क्लोजिङ शुरु हुने हुँदा बैंकले ऋण प्रवाहमा पनि कडाई गर्छन् ।’ हाल यस कार्यालयबाट ५ लाख देखि पाँच करोड पूँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । कार्यालयले उद्योग दर्ता गरेबापत न्यूनतम १२ हजार १०० रुपैयाँ राजस्व लिने गरेको छ ।