कोरोना (कोभिड– १९) को भय क्रमशः कम हुँदै गएको छ । तथ्याङ्कले पनि सधैँ त्रास रही रहँदैन भन्ने सङ्केत गर्दैछ । तर विश्वव्यापी महामारी व्यापक रूपमा फैलिएको समयमा नेपाली मिडियाले आमरूपमा निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न जरुरी छ । यस्तो मूल्याङ्कनले आगामी दिनमा मिडियाको क्षमता अभिवृद्धि गर्न सघाउ पु-याउँछ ।
कोभिड–१९ को पहिलो चरणपछिको केही सहज वातावरणमा भएका भेला वा भीडभाडको पनि सन्देश थियो । मिडियामा ती घटनाक्रमले कुन रूपमा ठाउँ पाए र मिडियाका सामग्रीले सामाजिक मनोविज्ञानमा कस्तो प्रभाव पा¥यो ? महामारीको त्रासमा स्थापित समाजिक दूरीको सिद्धान्तलाई दिगो बनाउन वा सर्तकतालाई कायमै राख्न त्यस्ता सामग्रीले कुनै योगदान गर्न सके त ? कोभिड–१९ विरुद्धको समग्र लडाइँका सन्दर्भमा सतहमा देखिएका जिज्ञासाहरू यस्तै छन् ।
जोखिम सञ्चारमा तत्कालैको सूचनाका साथै विज्ञ र सर्वसाधारणबीच स्वास्थ्य र सामाजिक जीवनमा कोभिड १९ को दुष्प्रभावको चुनौतीका सम्बन्धमा सल्लाह र धारणाको आदानप्रदान गराइन्छ । यस्तो सञ्चारको प्रमुख उद्देश्य जोखिममा रहेका जनसङ्ख्यालाई सूचनाका आधारमा निर्णय लिन सघाउनु नै हो । जोखिम सञ्चारको एउटा प्रमुख आधार भनेको आमसञ्चार माध्यम नै हुन । जनताको धारणा र विश्वासमा प्रभाव पार्ने गरी जीवनोपयोगी सूचना र सल्लाह उपलब्ध गराउने प्रयत्न आमसञ्चार माध्यमले गर्न सक्दछन् । अफवाह, गलत सामग्री आदिको सकेसम्म चाँडो पहिचान र खण्डन गर्न सक्नु पर्दछ ।