चैत ४, काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माणाधिन परियोजना द्रुत गतिमा अघि बढाउन एडीबीलाई आग्रह गरेकी छिन् ।
शुक्रबार शहरी विकास तथा भवन निर्माण मन्त्रालयमा एडिबीका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री झाँक्रीले सो आग्रह गरेकी हुन् । ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ’ मन्त्री झाँक्रीले भनिन्, ‘एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम द्रुत गतिमा अघि बढेर पनि छिटो सम्पन्न होस भन्ने हाम्रो चाहना छ ।’
मन्त्री झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहेकोले एडिबीको सहयोगको आपेक्षा सधैं रहने बताइन् ।
मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन् ।
शुक्रबार पूर्वाधार क्षेत्रमा हाल भइरहेका काम तथा आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडिबीका प्रतिनिधिबीच छलफल भएको थियो ।
छलफलमा मनिलास्थित एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताए ।