भदौ २२ गतेपछि वर्तमान सरकारले पूर्णता पाउँछ - जसपा अध्यक्ष यादव

सत्ता गठबन्धनका एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताउनुभएको छ । बुधबार जसपाबाट दश जना प्रदेश सभा सदस्य लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेपछि बिहीबार जनकपुरधाम आउनुभएका अध्यक्ष यादवले जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन आयोगले भदौ २२ गते सम्म दल रोज्न समयसीमा दिएकाले त्यो सकिएपछि मात्रै सरकारले पूर्णता पाउने विषयमा गठबन्धनका दलहरुबीच सहमति भइसकेको बताउनुभयो । उहाँले लोकतन्त्र विनाको कुनै पनि समाज आजको युगमा समृद्ध नभएको भन्दै संघीय गणतन्त्रलाई मजबुत बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले वर्तमान संविधानमार्फत् प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै प्राप्त गर्न बाँकी रहेका विषयहरुलाई संसदीय र गैरसंसदीय अभ्यासमार्फत् संघर्ष गर्दै अधिकार प्राप्त गर्ने बताउनुभयो ।