घरजग्गा कारोबारमा मन्दीः माघमा ४ महीना यताकै सबैभन्दा कम घरजग्गा किनबेच

फागुन १, काठमाडौं। घरजग्गा कारोबारमा आएको मन्दीले माघमा झन धेरै पीडा दिएको छ । माघमा किनबेच भएको घरजग्गा कात्तिकपछिकै सबैभन्दा कम भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ । माघमा जम्मा ५९ हजार मात्रै घरजग्गा किनबेच भएको विभागको तथ्याङ्क छ । यस अघि कात्तिकमा ५० हजार घरजग्गा किनबेच भएपपछि पहिलोपटक ६० हजार भन्दा कम घरजग्गा किनबेच भएका हुन् । मैसिर र पुसमा भने समान ७० हजार घरजग्गा किनबेच भएका थिए । बैंकिङ क्षेत्रमा तरलता सहज नभएकोले घरजग्गा कारोबार सुस्ताएको व्यवसायीहरुले बताएका छन् । सबैभन्दा धेरै घरजजग्गा किनबेच हुने झापा मोरङ र सुनसरीमै घरजग्गा कारोबारमा निकै कमी आएको छ । माघमा सबैभन्दा धेरै इनरुवा सुनसरीमा २ हजार ८०७ घरजग्गा किनबेच भएका छन् । बेलवारी मोरङमा २ हजार ५३६ र  जनकपुरमा २ हजार १६४ घरजग्गा किनबेच हुनु बाहेक कुनै पनि कार्यालयले २ हजार भन्दा बढि घरजग्गा किनबेच गराउन सकेनन् । भद्रपुर झापामा १ हजार ९८०, दमक झापामा १ हजार २४२, त्यस्तै काभ्रेपलाञ्चोकमा १ हजार २५५, लगनखेलमा १ हजार ९१६, भक्तपुरमा १ हजार ९२२,  कलंकीमा १ हजार ६८८, मकवानपुरमा १ हजार ५०५ घरजग्गा किनबेच भएका छन् । कलैया बारामा १ हजार २९४, राजविराजमा १ हजार २३३, वीरगंजमा १ हजार २०९, चितवनमा १ हजार ३०६, रुपन्देहीमा १ हजार २७, तौलिहवामा १ हजार १८२, घोराही दाङमा १ हजार ७२, तुल्सीपुर दाङमा १ हजार १२३ र नेपालगञ्जमा १ हजार ७८४ घरजग्गा किनबेच भएका छन् । ३ अर्ब ३२ करोड मात्रै राजस्व घरजग्गा किनबेचबाट प्राप्त हुने राजस्व पनि माघमा ३ अर्ब ३२ करोड रुपैयाँ मात्रै संकलन भएको छ । कात्तिकमा ३ अर्ब २२ करोड, मंसिरमा, ४ अर्ब २२ करोड, पुसमा ४ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । लगनखेल मालपोत कार्यालयले ३८ करोड, डिल्लीबजारले ३३ करोड, कलंकी. भक्तपुर र चाबहिलबाट समान २२/२३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । उपत्यकाबाहिर चितवनबाट ११ करोड रुपैयाँ राजस्व आउनुबाहेक कुनै पनि कार्यालयले १० करोड रुपैयाँ बढीि राजस्व संकलन गर्न सकेनन् ।