शेयर खरीद वा विक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगरौं : सेबोन

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर खरीद वा विक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ । त्यसो गरेमा धितोपत्र कारोवारसम्बन्धी कसूर गरेको मानी कारवाही गर्ने चेतावनी बोर्डले दिएको छ ।   विभिन्न संचारमाध्यम तथा फेसबुक, युट्युब, क्लब हाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरू खरीद वा विक्री गर्न तथा खरीद वा विक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा गुनासो तथा उजुरी आएको बोर्डले जनाएको छ । यसबारे गम्भीर ध्यानाकर्षण भएको पनि बोर्डले उल्लेख गरेको छ ।   यस्ता कार्य गर्नेमाथि सुक्ष्म निगरानी भइरहेको र बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुनबमोजिम कारवाही गर्ने चेतावनीसमेत बोर्डले दिएको छ । बोर्डले भनेको छ, 'धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवारसम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टीकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्व रोक्न सूचित गरिन्छ ।’ सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने बोर्डले जनाएको हो ।  बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुन बमोजिम कारवाही अगाडि बढाईने बोर्डले उल्लेख गरेको छ । बोर्डले लगानीकर्ताहरूलाई कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी थपिँदै, कुन कम्पनीले पाउँछन् यो सुविधा ?

काठमाडौं । पछिल्लो समय प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्न थालेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिन थालेपछि कतिपय निजी क्षेत्रका कम्पनीले साधारण सभाबाट उक्त प्रस्ताव पारित गराएर आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएका छन् । कतिपयले भने साधारण सभामा प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव राख्ने भएका छन् ।   प्रिमियममा शेयर निष्कासन गर्न अनुमति पाएका सबै कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेर प्रिमियम मूल्यभन्दा पनि उच्च मूल्यमा दोस्रो बजारमा कारोबारमा आइसकेका छन् । दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भएपछि अहिले स्थापित कम्पनी पनि प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न उत्साहित भएको देखिन्छ ।  शिवम् होल्डिङ्ग्स लिमिटेड प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरिसकेको छ । कम्पनीले १६ लाख कित्ता साधारण शेयर प्रिमियम मूल्यमा निष्कासन गर्ने तयारी गरेको हो । त्यस्तै जगदम्बा क्रेडिट इन्भेष्टमेन्ट लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न यही पुस २८ गते साधारण सभा आयोजना गरेको छ । त्यस्तै जगदम्बा स्टिल्स र ह्याम्स अस्पताल पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिइसकेका छन् । जगदम्बा स्टिल्सले अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ ।  त्यसैगरी ह्याम्स अस्पतालले अंकित मूल्यमा १ सय ८८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  चालू आर्थिक वर्ष (आव)मा सेबोनले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र हिमालनयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिइसकेको छ । सोनापुर मिनरल्सको शेयर कारोबार धितोपत्रको दोस्रो बजारमा आइसकेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर सूचीकृत प्रक्रियामा छ ।  त्यस्तै सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाइसकेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा बाँडफाँट गरेर दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्ने सेबोनबाट अनुमति पाइसकेको छ । यस कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्न लागेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ जारी गर्न लागेको हो ।  सोनापुर मिनरल्सको शेयर मूल्य बुधवार प्रतिकित्ता रू.४८२ दशमलव ९० कायम भएको छ । यस कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।  गत आवमा घोराही सिमेन्ट इन्डष्ट्रिज, भगवती हाइड्रोपावर डेभलपमेन्ट कं. लिमिटेड, मान्डु हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडलाई प्रिमियममा शेयर निष्कासन गर्न सेबोनले अनुमति दिएको थियो ।  पछिल्लो समय सेबोनले प्रिमियममा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको कम्पनीको बारेमा संसदको लेखा समितिमा कुरा उठेको थियो । समितिमा कतिपय सांसदले वित्तीय विवरण राम्रो नभएका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको आरोप लगाएका थिए ।  त्यसपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाउँछन् भने प्रश्न उठाउन थालेका छन् ।  कस्ता कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पाउँछन् ? धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आवसम्म नाफामा रहेको प्रतिशेयर नेटवर्थ प्रतिशेयर अंकित मूल्यभन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था छ । ‘प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको प्रतिशेयर चुक्ता पूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको हुनपर्नेछ,’ धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भनिएको छ, ‘संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन, निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारणसम्बन्धी व्यवस्था पालना गरेको र संगठित संस्थाले कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।’ कसरी हुन्छ प्रिमियममा मूल्य निर्धारण ? धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा विक्री प्रस्तावमार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तरराष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ । यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

न्यू बिजनेश एज २२औं वार्षिकोत्सव विशेष: आईपीओबाटै भित्रियो करीब ३८ करोड विप्रेषण

आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि लागू गरिएको १० प्रतिशत आरक्षणका कारण वैशाख दोस्रो सातासम्म १९ कम्पनीको आईपीओ विक्रीबाट रू. ३७ करोड ७० लाख ८२ हजार ६०० रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल सरकारले विदेशी मुद्रा भित्र्याउने उद्देश्यसहित गरेको यो व्यवस्था गत मङ्सिर १४ गतेदेखि जारी भएको कालिञ्चोक दर्शनको आईपीओबाट लागू भएको थियो । नेपाल सरकारले यस वर्षको बजेटमै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सरकारले गरेको उक्त व्यवस्था कार्यान्वयनका लागि गत भदौ २६ गते ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७३’ छैटौं संशोधन गरी लागू गरेको हो । बैंकिङ प्रणालीमार्फत देशमा विप्रेषण भित्र्याउने उद्देश्यले बोर्डले निर्देशिका संशोधन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी हुन थालेकाले देशको शोधनान्तर स्थिति सबल बन्ने विश्वास बोर्डको छ । आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्थाले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन प्रोत्साहन भई विदेशी विनिमय सञ्चितिमा सहयोेग पुगेको बोर्डको भनाइ छ । पूर्ण प्रविधिमैत्री नेपालको धितोपत्र बजारका कारण विदेशमा रहेका नेपाली श्रमिकले सहज रूपमा आईपीओ खरीद गर्न सम्भव भएको हो । शुरूका दिनमा प्राविधिक कठिनाइ भए पनि पछिल्लो समय सहजै आईपीओ खरीद गर्न सकिएको हाल कतारको रोजगारीमा रहेका दिनेश श्रेष्ठले बताए । नेपालमा रहँदा आईपीओ भर्दै आएका श्रेष्ठले विदेशमा गए पनि पनि आईपीओ भर्ने गरेको तर पर्दै नपरेको गुनासो गरे । पछि आफूजस्तै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले १० प्रतिशत आरक्षित शेयर खरीद गर्न पाउने थाहा पाएपछि आईपीओ भर्ने गरेको बताए । वैदेशिक रोजगारीमा रहेका नेपालीले विप्रेषण खाताबाट मात्र आईपीओ खरीद गर्न पाउने प्रक्रियाले केही समय कठिन भए पनि हाल सबै प्रक्रिया पूरा गरी आईपीओ खरीद गरिरहेको जानकारी श्रेष्ठले दिए । वैदेशिक रोजगारीमा रहेका धेरैलाई आईपीओमा आरक्षणको विषय थाहा नभएको उनले बताए । जो नेपालमा रहँदा आईपीओ भर्ने गर्दथे, ती व्यक्तिले विदेशमा गएर पनि चासो राखेकाले आरक्षित शेयरका बारेमा जानकारी पाएको भनाइ उनको छ । यो विषयमा वैदेशिक रोजगारीमा रहेका आम नेपालीमा जनचेतना बढाउनुपर्ने मागसमेत उनले गरे । देशको अर्थतन्त्रसँग जोडिएको विप्रेषण बढाउन आईपीओलाई समेत माध्यम बनाइएकोमा सरोकारवालाहरूले प्रशंसा गरेका छन् । लगानीकर्ता छोटेलाल रौनियारले विदेशमा कार्यरत श्रमिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्थाले उनीहरू उत्साहित भएको बताए । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले विप्रेषणमार्फत नेपालको अर्थतन्त्रलाई विगतका दिनमा पनि सघाइरहेकोमा पछिल्लो समय आईपीओमार्फत उनीहरूलाई लगानीको अवसर दिइनु सकारात्मक पक्ष भएको रौनियारले बताए । ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७३’ छैटौं संशोधन लागू भएपछि वैशाख दोस्रो सातासम्म आईपीओ जारी गरेका १९ कम्पनीको ३७ लाख ७० हजार ८२६ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिएको छ । बोर्डले निर्देशिका लागू गरेपछि आईपीओ जारी गर्न स्वीकृति माग गर्ने कम्पनीलाई वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर छुट्ट्याएपछि स्वीकृति प्रदान गर्दै आएको छ । गैरआवासीय नेपालीलाई दोस्रो बजारमा भित्र्याउने पहल पनि बोर्डबाट भइरहेको छ । यो अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपालीमा प्राथमिक बजारमार्फत आईपीओ वितरण गर्दा दोस्रो बजारमा पनि कारोबारको वातावरण बन्ने आशा बोर्डको छ । हाल प्राथमिक बजार खाली नहुनेगरी नै कम्पनीहरूको आईपीओ विक्रीमा आइरहेको छ । त्यसैले भोलिका दिनमा पनि वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आईपीओमार्फत विप्रेषण बढ्ने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अनलाइनमार्फत आईपीओ खरीदमा सघाउन अनलाइनमार्फत नै विप्रेषण खाता खोल्न सकिने व्यवस्था बैंकहरूले गरेका छन् । सार्वजनिक निष्कासनका शेयर खरीदका लागि सी–आस्बा सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाबाट वैदेशिक रोजगारीमा रहेका नेपालीले विप्रेषण खाता खोल्न र उक्त खाताको सीआरएन नम्बर लिन सक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएर गएका नेपालीले मात्र आरक्षित शेयरमा आवेदन दिन सक्नेछन् । विप्रेषण बचत खाता भएका र उक्त खातामा पछिल्लो ६ महीनामा रोजगार गन्तव्य मुलुकबाट कम्तीमा ५० हजार रुपैयाँ बराबर जम्मा गरेका नेपालीले आरक्षित आईपीओमा आवेदन दिन सक्छन् । श्रमस्वीकृति लिएर गएका नेपाली नागरिक खाडी मुलुकमा बढी भएकाले विप्रेषण खाता नै हुनुपर्ने व्यवस्थाले समस्या भएको हुन सक्ने अनुमान स्वदेशमै रहेका लगानीकर्ताले गरेका छन् । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई जुन उद्देश्यले आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको थियो, उक्त व्यवस्थामा नीतिगत बाधा भएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छन् ।