दोलखा (अस) । दोलखामा स्थानीयको सहभागितामा पुरातात्त्विक शैलीमा कुमारी घरको पुनर्निर्माण सम्पन्न भएको छ ।
विनाशकारी भूकम्पले ध्वस्त भएको कुमारी घरको निर्माण गर्न ८१ लाख रुपैयाँ खर्च भएको कुमारी मन्दिर निर्माण उपभोक्ता समितिका सचिव सुरेश श्रेष्ठले जानकारी दिए । दोलखा जिल्लामा रहेको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर, तलेजु, तथा भीमेश्वरको भण्डार घरको निर्माण पुरातत्त्व विभागबाट सम्पन्न भए पनि कुमारी घरको निर्माण नभएको कारण स्थानीयहरूकै सहभागितामा कुमारी घरको निर्माण सम्पन्न भएको उनले बताए ।
कुमारी घर निर्माणको लागि भीमेश्वर नगरपालिकाले १७ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने बाँकी ६४ लाख रुपैयाँ स्थानीयहरूले चन्दा संकलन गरेका थिए । पुरातात्त्विक घर निर्माणका लागि एउटा परिवारबाट १२ लाख रुपैयाँसम्म चन्दा प्राप्त भएको सचिव श्रेष्ठको भनाइ छ । पुरातात्त्विक शैलीमा निर्माण गरिएको भवनमा दाचिअप्पा इँटको प्रयोग गरिएको छ ।
दुई तल्ला रहेको उक्त भवनमा कलात्मक साँझ्या: (तीन ओटा झ्याल) तथा आँखीझ्यालहरू राखिएका छन् । यसैगरी छानो भने तामाको लगाइएको छ । काठहरू सबै सालका प्रयोग गरिएको कुमारी मन्दिर निर्माण उपभोक्ता समितिले बताएको छ ।
ऐतिहासिक दोलखा शहरमा रहेका केही मुख्य पुरातात्त्विक संरचनाहरूको निर्माण सम्पन्न भइसके पनि नाट्येश्वर, श्यामसुन्दर मन्दिर, चैत्यहरू लगायतको निर्माण हुन सकेको छैन । टक्सार घर संग्रहालय भवन भने निर्माणाधीन रहेको छ ।