काठमाडौं । नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले शनिवार नेपाली राजदूतावास मस्कोमा ‘नेपाल प्रमोसन इभेन्ट–२०२३’ कार्यक्रम गरिएको छ ।
कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एअरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, हिमाल आरोही, कूटनीतिज्ञ, व्यवसायी, गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायतको सहभागिता रहेको मस्कोस्थित नेपाली दूतावासले जानकारी दिएको छ । कार्यक्रममा रूसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले नेपालमा रूसी पर्यटक तथा पर्यटन व्यवसायीका लागि बहुआयामिक अवसर रहेको र त्यसको सदुपयोग गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा सोभियत हिरो तथा कस्मोनाट भ्लादमिर अलेक्जेड्रोभिच द्जानिबेकोभ, नेपालका लागि रूसी महासंघका पूर्वराजदूत भ्लाच्किन सेर्गेई भासिलिभिच, गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसका अध्यक्ष शिवमणि भुर्तेल, रूसी आरोही इभान ट्रफिमोभिच दुसारिनलगायतले नेपालको पर्यटन, हिमाल आरोहण, संस्कृतिलगायत विविध पक्षको सम्भावना तथा वर्तमान अवस्थाबारे चर्चा गरेका थिए ।
नेपालमा रूसी पर्यटक पठाउने अग्रणी पर्यटन व्यवसायी लिओनिद माइस्निकोभ एवं सेर्गेइ पेस्किेभिचले नेपाल प्रवर्द्धनसम्बन्धी भिडियो तथा अन्य सामग्री प्रस्तुत गरेका थिए । रूसी बैंकर तथा व्यवसायी युरिय गुसेभले नेपालमा लगानीको अवसरको विषयमा प्रस्तुति दिएको दूतावासले जानकारी दिएको छ ।
कार्यक्रममा नेपाली संस्कृतिको झल्को दिने गरी जीवित देवी ‘कुमारी’को प्रदर्शनी गरिनुका साथै नेपाली सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो भने नेपाली परिकारसहितको रात्रिभोजको आयोजना गरिएको थियो । रासस