भोटर कार्ड छैन ? नआत्तिनुस्, यी कागजात देखाएर पनि भोट हाल्न पाइन्छ

मतदाता परिचय पत्र पाइनसकेका वा हराएकाहरुले मतदान अधिकारबाट बन्चित हुन नपरोस् भनेर फोटो भएको परिचय खुल्ने कागजात भएको खण्डमा भोट हाल्न पाइने छ । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर भोट हाल्न सकिने जनाएको छ । तर, त्यसको लागि मतदाता नामावलीमा नाम भने भएको हुनुपर्छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र साथमा नभएकाले आफ्नो फोटो टाँसिएको कुनै पनि परिचय खुल्ने प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने जनाएका छन् । उनका अनुसार नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र साथमै बोकेर गए भोट हाल्न पाइनेछ । आयोगले पूर्ण असशक्त बाहेक अरुलाई आफ्नो मत अरुलाई हाल्न नदिन पनि भनेको छ । मतदान गर्न मतदान स्थलमा आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न र सबैभन्दा पहिला उनीहरुले मतदान गर्न सक्ने व्यवस्था मिलाउन पनि आयोगका प्रमुख आयुक्त थपलियाले अनुरोध गरेका छन् ।