टोक्यो ओलम्पिक औपचारिक रुपमा सुरु(फोटोफिचर)

जापानकी नाओमी ओसाकाले ओलम्पिक ‘ज्योती’ बाल्नुभएको छ । नाओमी ओसाका टेनिस खेलाडी हुनुहुन्छ । उहाँले चार पटक ग्रान्ड स्लामको उपाधि जित्नुभएको छ । ओसाकाले ओलम्पिक दीप प्रज्जवलन गरेपछि जापानका सम्राटले ओलम्पिक खेलकूद सुरु भएको घोषणा गर्नुभयो । जापानको टोक्योमा सम्राट नरुहितोले ओलम्पिक खेलकूद सुरु भएको घोषणा गर्नुभयो । त्यसअघि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाकले आजको दिन आशाको क्षण रहेको बताउनुभयो । यो ३२ औं ग्रीष्मकालीन ओलम्पिक हो । त्यसअघि, नेपाली ओलम्पियनले उद्घाटन समारोहमा नेपालको झण्डा फहराएका थिए । पौडीबाज गौरिका सिंहसहितको नेपाली ओलम्पियन तथा अधिकारीहरुको टोलिले नेपालको झण्डा बोकेर रङशालामा मार्च पास गरेका थिए । टोक्यो ओलम्पिक २०२० मा नेपालबाट पाँच जना खेलाडीले पाँच बिधामा स्पर्धा गर्दैछन् । गौरिका सिंह पौडी, कल्पना परियार शूटिङग, सरस्वती चौधरी एथलेटिक्स, एलेक्स शाह पौडी र सोनिया भट्ट जुडोमा स्पर्धा गर्नेछन् । ओलम्पिकको पहिलो दिनको खेलमा आर्चरी, फेन्सिङ्ग, जुडो, शूटिङ, त्वेक्वान्दो र भारत्तोलन विधा तर्फ स्वर्ण पदकको छिनोफानो हुनेछ ।

सम्बन्धित सामग्री

टोक्यो ओलम्पिक आजबाट सुरु हुँदै

टोक्यो ओलम्पिक आजबाट सुरु हुँदैछ । कोरोना महामारीले करिब दुई वर्षको अनिश्चिततापछि टोक्यो ओलम्पिक आजबाट सुरु हुन लागेको हो । ओलम्पिक खेलकुद जुलाई २३ मा औपचारिक रुपमा सुरु भई अगष्ट ८ मा सम्पन्न हुनेछ । ओलम्पिकमा विश्वका २०७ राष्ट्रका ११ हजार ३०० खेलाडी सहभागी हुँदैछन् । लामो समयसम्मको अभ्यासपछि सबै खेलाडी पदक हात पार्ने उद्देश्य लिएर ओलम्पिकमा सहभागी हुँदैछन् । सन् २०२० को मार्चमा टोक्यो ओलम्पिक स्थगित हुन पुग्दा आयोजकले ‘ओलम्पिकको ज्वालाले सुरुङ्गको अन्त्यमा प्रकाश लिएर आउने’ बताएका थिए । कोभिड १९ को सङ्क्रमण अझै थामिएको छैन् । विश्वमा कतै तेस्रो त कतै कोरोनाभाइरसको प्रकोप चौथो लहरको रुपमा देखा पर्दैछन् । तर शुक्रबार हुन लागेको ओलम्पिकको उद्घाटन समारोह अवश्य नै प्रकाश लिएर आउनेछ ।