काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्ने भएको छ ।
डाबर नेपाललाई त्यस बराबरको लगानी थप्न लगानी बोर्डले स्वीकृत दिएको हो । कोरोनाको दोस्रो लहरअघि नै डाबरले लगानी थप्न अनुमति माग गर्दै प्रस्ताव गरेको थियो । पेय, सौन्दर्य तथा स्वास्थ्यवद्र्धक वस्तु उत्पादन गर्ने डाबरले नेपालको ९ अर्ब ६८ करोड रुपैयाँ पूँजी थप गर्ने प्रस्ताव स्वीकृत गरिएको बोर्डका अधिकारीहरूको भनाइ छ ।
नेपालमा ६ अर्बभन्दा माथिको कुनै पनि लगानीको स्वीकृति तथा सहजीकरण गर्ने जिम्मेवारी लगानी बोर्डले पाएको छ । सोहीअनुसार डाबर बोर्ड पुगेको हो । कम्पनीको प्रस्तावमाथि छलफल गरेर बोर्डको मंगलवार बसेको बैठकले लगानी स्वीकृति दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।
कुल निर्यात व्यापारमा डाबरको योगदान ५ दशमलव ३४ प्रतिशत रहेको छ । नेपालमा ९७ दशमलव ५ प्रतिशत अंश डाबर इन्टरनेशनल लिमिटेडको र बाँकी साढे २ प्रतिशत स्वामित्व नेपाली साझेदारको रहेको छ । २०४७ सालको परिवर्तनसँगै नेपाल आएको डाबरले पछिल्लो समय नेपालमा जुसलगायत वस्तु उत्पादन गरी भारत निर्यात गर्दै आएको छ । निर्यातको सम्भावना बढी भएको वस्तुको उत्पादन क्षमता बढाउन डाबरले प्राथमिकतामा राखेको छ ।
रियल जुस, डाबर च्यवनप्रास, डाबर रेड टुथपेस्ट, हाजमोला, डाबर अमला हेयर अयल, डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोस्टाइल, ओडोनिल, ह्यान्डवासलगायत डाबरका मुख्य उत्पादन हुन् ।
डाबरले हर्बल प्लान्टको उत्पादनका लागि किसानहरूसँग सहकार्य गरिरहेको बताएको छ । पछिल्लो समय डाबरले नेपालमा आफ्नो आम्दानी बढाउँदै लगेको छ । सन् २०२० मा कम्पनीले नेपालबाट ८ अर्ब ९३ करोड आम्दानी गरेको थियो । कोरोनाका कारणले २०१९ को तुलनामा यस वर्ष आम्दानीमा केही गिरावट आएको थियो । २०१९ मा कम्पनीले ९ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । यसैबीच, लगानी बोर्डले सार्वजनिक निजी साझेदारीसम्बन्धी विश्वव्यापी संस्थाको सदस्यता लिने भएको छ ।
बोर्डले स्वीट्जरल्यान्डमा रहेको वर्ल्ड एशोसिएशन अफ पीपीपी युनिट एन्ड प्रोफेशनलको सदस्यता लिने निर्णय गरेको हो । एशोसिएशनले लगानी बोर्डलाई निःशुल्क सदस्यता दिने प्रतिबद्धता गरेको थियो । सदस्यता लिएपछि लगानी बोर्डले पीपीपी सम्बद्ध ज्ञान तथा उत्कृष्ट अभ्यासका बारेमा प्राविधिक सहायता पाउने लगानी बोर्डको विश्वास छ ।
मंगलवार स्वीकृत भएको लगानीमध्ये केही अंश नयाँ प्रडक्टमा लगानी गरिने डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले जानकारी दिए । अबको २ वर्षदेखि ४ वर्षको बीचमा यो लगानी नयाँ उत्पादन, मेशिन तथा पुराना मर्मत सम्भारमा खर्चिने र अहिलेकै जुस उत्पादनका प्लान्ट थप्न पनि हुने जानकारी दिए । उक्त लगानीबाट कम्पनीले हालकै जुस प्लान्टको क्षमता विस्तार गर्दै जुस उत्पादनमा नयाँ लाइन थप्ने, पुराना मेशिनहरूलाई प्रतिस्थापन गर्ने र नयाँ प्रडक्टमा लगानी गर्ने योजना रहेको उनले बताए ।
अहिलेको थप लगानी एफएमजीसीमै केन्द्रित भएर नयाँ प्रडक्ट आउने उनको भनाइ छ । नयाँ प्रडक्डहरूमा पूmड, जुसका साथै कन्जुमर केयरिङमा पनि हुने उनले बताए । ‘भर्खर मात्रै लगानी स्वीकृत भएको छ,’ गोर्खालीले भने, ‘२ वर्षअघि बनेको उक्त योजनालाई पुनर्मूल्यांकन गर्ने र अहिलेको बजारको माग र उपभोक्ताको रोजाइअनुसार नयाँ उत्पादनतर्फ लाग्नेछौं ।’
कम्पनीले अहिले स्वीकृत भएको लगानीपनिहाल फ्याक्ट्री रहेकै जिल्ला बारामै लगाउनेछ । उक्त लगानी थपे पनि कम्पनीले नयाँ प्रडक्ट उत्पादनका लागि अन्य स्थानमा प्लान्ट लगाउने छैन । बारास्थित रामपुर टोकनीको उद्योगमा प्लान्ट लगाउनेछ ।