रुकुम । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकामा यस वर्ष गतवर्षको तुलनामा स्याउ उत्पादन बढ्ने भएको छ । गाउँपालिकाले दुई हप्तामा गरेको अध्ययनमा उत्पादन बढ्ने प्रतिवेदन तयार पारेको छ । कृषि शाखाका प्राविधिक सहित वडाका कृषि स्वयंसेवक र सम्बन्धित वडाका जनप्रतिनिधिको टोलीले गरेको अनुगमनपछि तयार प्रतिवेदनमा ३० देखि ५० प्रतिशतले स्याउ उत्पादन वृद्धि हुने उल्लेख गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक सन्तोष ओलीले जानकारी दिए ।
गतवर्ष ४० देखि ५० टन स्याउ उत्पादन भएको पुथाउत्तरगंगामा हावाहुरी र असिना पानीले क्षति नगरे यस वर्ष ८० देखि १०० टनसम्म उत्पादन हुने अनुमान छ । गाउँपालिकाका २, ५, ६, १० र ११ नम्बर वडामा प्रशस्त स्याउ पाइन्छ । वडा नम्बर ६ लाई स्याउको पकेट क्षेत्र घोषणा गरिएको छ भने २ नम्बर वडामा प्रदेश सरकारले स्याउ ब्लकको रूपमा विकास गरी काम गरिरहेको ओलीले बताए । अन्य वडामा पनि स्याउ पाइन्छ । स्याउ प्रशस्त मात्रामा पाइने गरेका भए पनि बजारीकरणको भने समस्या छ । सडक सुविधा नपुगेको त्यस ठाउँबाट घोडा, खच्चडमार्फत स्याउ ढुवानी गरिँदै आएको । कतिपयको स्याउ बारीमै कुहिने गरेको छ ।
गाउँपालिकाले ढुवानीमा अनुदानका लागि यस वर्ष चार लाख रुपैयाँ छुट्याएको छ । यस वर्ष लगाइएका बिरुवाको अनुगमन गरिएको छ । लगाइएका बिरुवा खडेरीका कारण २० देखि २५ प्रतिशत मरेका छन् । बिरुवा ढिला आएको र कृषकले पनि लगाउन ढिला गरेकाले बिरुवा मरेको बताइएको छ । तत्काललाई बिरुवामा कुनै रोग देखिएको छैन् । स्याउको दाना पनि राम्रो लागेको प्रतिवेदनमा उल्लेख छ । रासस