काठमाडौं । एक वर्षको अन्तरालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ प्रतिशत घटेको छ ।
गतवर्ष (२०७८ जेठ २० गते) र चालू वर्ष (२०७९ जेठ २०) गतेको नेप्से परिसूचकलाई तुलना गर्दा एक वर्षको अवधिमा नेप्से परिसूचक २७ दशमलव २३ प्रतिशत घटेको छ । गतवर्षको जेठ २० गते २ हजार ८५६ विन्दुमा रहेको नेप्से परिसूचक एक वर्षपछि चालू वर्षको जेठ २० गते २ हजार ७८ विन्दुमा झरेको छ । एक वर्षको अवधिमा परिसूचक ७७८ अंक तल झरेको छ ।
तर, यही एक वर्षको बीचमा नेप्से परिसूचक बढेर ३२ सय विन्दु पार गरेको थियो । गत भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो । उक्त दिन नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यसयता नेप्से परिसूचकले उक्त विन्दु भेट्टाउन सकेको छैन । बजारमा तरलता अभाव बढ्दै गएकोले नेप्सेमा त्यसको प्रत्यक्ष प्रभाव परेको जानकार बताउँछन् । नेप्से परिसूचक घटेसँगै अहिले अधिकांश कम्पनीको शेयरमूल्य पनि सस्तिएको छ ।
कतिपय कम्पनीको शेयरमूल्य सस्तिएर गतवर्षको तुलनामा ५० प्रतिशत कम मूल्यमा किन्न सकिने अवस्था आएको छ । तर, लगानीकर्तासँग पर्याप्त पैसा नहुँदा मौकाको फाइदा उठाउन सक्ने अवस्था छैन । यसै क्रममा एक वर्षको अवधिमा राष्ट्रियस्तरका आठओटा विकास बैंकको पनि शेयरमूल्य २० प्रतिशत घटेको छ ।
गतवर्ष २०७८ जेठ २० गतेको तुलनमा अहिले राष्ट्रियस्तरका विकास बैंकहरू लुम्बिनी, शाइन रेसुङ्गा, ज्योति, मुक्तिनाथ, कामना सेवा, गरिमा, सांग्रिला र महालक्ष्मी विकास बैंकको शेयरमूल्य औसत २० दशमलव २१ प्रतिशत घटेको हो ।
शेयरमूल्य सबैभन्दा बढी घट्नेमा लुम्बिनी विकास बैंक रहेको छ । यो बैंकको एक वर्षको अवधिमा शेयरमूल्य २५ दशमलव ४० प्रतिशत घटेको छ । गतवर्षको जेठ २० गते यो बैंकको शेयरमूल्य ४९६ रुपैयाँ रहेकोमा हाल ३७० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।
शेयरमूल्य बढी घट्ने दोस्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकको २४ दशमलव ९४ प्रतिशत शेयरमूल्य घटेको छ । गतवर्ष यो बैंकको शेयरमूल्य ४२१ रुपैयाँ रहेकोमा यो वर्ष ३१६ रुपैयाँमा शेयर खरीदविक्री भइरहेको छ ।
त्यसैगरी शेयरमूल्य सबैभन्दा कम घट्नेमा महालक्ष्मी विकास बैैंक रहेको छ । यो बैंकको शेयरमूल्य एक वर्षको अन्तरालमा ८ दशमलव १५ प्रतिशतमात्र घटेको छ । गतवर्षको जेठ २० गते ४०५ रुपैयाँ भएको यो बैंकको शेयरमूल्य एक वर्षमा ३३ रुपैयाँ मात्र घटेको छ । हाल यो बैंकको ३७२ रुपैयाँमा शेयर खरीदविक्री भइरहेको छ ।
प्रतिशतमा शेयरमूल्य बढी घट्नेमा लुम्बिनी विकास बैंक भए पनि रुपैयाँमा सबैभन्दा बढी शेयरमूल्य घट्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकको शेयरमूल्य एक वर्षमा १२९ रुपैयाँ घटेको छ । गत वर्षको जेठ २० गते ५६६ रुपैयाँमा शेयर कारोबार भएकोमा यो वर्षको २० गते भने यो बैंकको शेयरमूल्य ४३७ रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय कारोबार रकम पनि दिन प्रतिदिन घट्दो क्रममा रहेको छ । बजार घटेसँगै लगानीकर्ता आत्तिएर बाहिरिने हुँदा कारोबार रकममा कमी आउन थालेको हो । एक वर्षकै बीचमा २१ अर्बसम्मको शेयर कारोबार भएकोमा अहिले दैनिक साढे १ अर्बको हाराहारीको शेयर कारोबार हुने गरेको छ ।