नेपाल–भारत संयुक्त आयोगको बैठक: छलफलका विषयसूची तय

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक बिहीबारदेखि भारतमा सुरु भएको छ । अनौपचारिक रूपमा सुरु भएको बैठकको पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकको पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिल्ली उत्रिएलगत्तै दुवै देशका कार्यदलले बैठकको म्यान्डेटअनुसार काम थालेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँका अनुसार औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई त्यसको गाम्भीर्यताका आधारमा तहगत रूपमा व्यवस्थित गर्ने काम भएको छ ।