काठमाडौं । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले कुमाल संग्राहलय बनाउन नगरपालिकाले सार्वजनिक जग्गा दिने घोषणा गरेका छन् ।
शनिवार चन्द्रागिरीमा आयोजित नेपाल कुमाल सुधार समिति काठमाडौंको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै मेयर गिरीले यस्तो घोषणा गरेका हुन् ।
माटोका भाँडा बनाएर विक्री गर्ने र नदि किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएको यो समुदायले अहिले भने मुख्य पेशा छोडी सकेका छन् ।
कला संस्कृतिमा पनि धनी मानिएको कुमाल समुदायका सोरठी लगायतका नाच प्रख्यात छन् । चितवन र नवलपरासीमा बाक्लै वस्ती रहेको यो समुदायको कला संस्कृति अहिले पर्यटककोसमेत रोजाइमा पर्न थालेको चितवनका पर्यटन व्यवसायीहरु बताउँछन् ।
नेपालमा जनसंख्याको हिसाबले आठौं ठूलो जनजाती भए पनि राज्यका उपल्लो निकायमा कुमालको प्रतिनिध्व भने हुनै नसकेको कुमाल समाजका अगुवाहरू बताउँछन् ।
२०५० देखि संगठित भएर कुमालको हक हितको लागि आवाज उठाउँदा पनि अहिलेसम्म कुनै उपलब्धि प्राप्त नभएको समाजका केन्द्रीय अध्यक्ष बिशाल कुमालले बताए ।
अहिलेसम्म कुमाल समुदायका ४ जना वडा अध्यक्ष हुने बाहेक अन्य हिसाबले राज्यका कुनै पनि निकायमा यो समुदायका मान्छे नपुगेको समाजका पूर्व अध्यक्ष जितबहादुर कुमालले बताए ।
माटोको भाँडा बनाउने परमपरागत पेशा गर्दै आएका कुमालले क्षमता अभिवृद्धि र रोजगारीका अवसर नपाउँदा यो समुदाय पनि अहिले वैदेशिक रोजगारीका भरमा पालिदै आएको समाजका संस्थापक अध्यक्ष सूर्यबहादुर कुमालले बताए ।
कुमाल जातिको सबैभन्दा धेरै जनसंख्या गण्डकी प्रदेशमा र थोरै जनसंख्या मधेस प्रदेशमा छ। देशभर ७७ मध्ये ७५ जिल्लामा यो समुदायका मानिस बसोबास गर्दै आएको आदिवासी जनजाति महासंघकी उपाध्यक्ष समेत रहेकी श्रुति कुमालले बताइन् ।
करीब डेढ लाख जनसंख्या भएको कुमाल समुदायको प्रतिनिधित्व सुनिश्चितता माग गर्दै समिति निर्वाचन आयोगमा पनि पुगिसकेको समितिका केन्द्रीय सल्लाहकार सिताराम कुमालले बताए ।
शान्ति कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति
दोस्रो जिल्ला सम्मेलनले शान्ति कुमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शान्ति काठमाडौंको पहिलो महिला अध्यक्षसमेत बनेकी छन् ।
समितिका अन्य पदाधिकारी मध्ये उपाध्यक्षमा डी बी कुमाल, कृष्ण कुमाल, सचिवमा हरिश्चन्द्र कुमाल, सहसचिवमा निरन कुमाल र कोषाध्यक्षमा बिमला कुमाल चयन भएका छन् ।
सदस्यहरुमा, प्रतिभा कुमाल, प्रमिला कुमाल, विशाल कुमाल, बुद्विबल कुमाल र विमला कुमाल चयन भएका छन् ।