सूर्यमुखीको खेती

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपति नगरमा एक किसानले गरेको सूर्यमुखीको खेती । तस्वीर : सञ्जीतकुमार मण्डल /रासस

सम्बन्धित सामग्री

मकै छाडेर सूर्यमुखी खेतीमा पाल्पाका कृषकको आकर्षण

असार ३, पाल्पा । कुनै समय घरआँगनका डिल, वरपर, करेसाबारी, बगैंचामा, सोख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने किसानको खेती भएको छ । यसलाई कृषकले व्यावसायीकरण गर्ने गरेका छन् । त्यसैले अहिले घरआँगनमा गमलामा देखिने सूर्यमुखी फूल अब आम्दानीको माध्यम बनेको छ । पाल्पाका कृषकले सूर्यमुखीको खेती नै थालेका छन् ।            मकै बालीको तुलनामा कम लगानी, मेहनत तर आम्दानीका हिसाबले दोब्बर बढी हुने भएपछि व्यावसायिकतामा पाल्पाली कृषकको मोह बढेको पाइएको छ । बजारमा तेलको मूल्यवृद्धि हुँदै गएको अवस्थामा यहाँका कृषकले आयआर्जनका निम्ति सूर्यमुखीलाई प्राथमिकता दिन थालेको पाइन्छ । रामपुर नगपालिका–५ बस्ने युवा बलबहादुर रानाको राम्रै मकै बाली उत्पादन हुने खेत यतिखेर सूर्यमुखी फूलले ढकमक्क छ । उनले घर वरपर फूलेको सूर्यमुखी देख्दा काममा काम गर्ने जाँगर बढेर आएको भन्दै अहिले खेतभरी जताततै सूर्यमुखी फूलेको बताए । अहिले उनको यो सूर्यमुखी खेतीमा हेर्न आउने, फूलको बास्नामाा रमाउने, फूलसँगै रमाउँदै तस्बिर खिच्ने र सामाजिक सञ्जालहरुमा फोटो पोष्ट गर्ने, टिकटक बनाउने, भिडियो बनाउनेको निकै चहलपहल देखिन्छ । यहाँ फुल्दै गरेको सूर्यमुखीसँग बालबालिकादेखि युवायुवती, वृद्धवृद्धाहरू सबै उमेर समूहका व्यक्ति फूलसँग रमाउँदै फोटो खिचाउने र सामाजिक सञ्जालमा छरपस्ट राख्नेको होडबाजी नै छ । रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाड बजार जाने सडक छेउछाउमा फूलेको सूर्यमुखीको लोभलाग्दो दृश्य देखेपछि सवारी साधनमा यात्रा गर्ने यात्रु पनि एकछिन गाडी रोकेर फोटो खिचाएर मात्रै जाने गर्दछन् ।            अहिले यहाँ दैनिक ३०० भन्दा बढीको हाराहारीमा फूलमा आएर फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने गरेको कृषक प्रभु श्रेष्ठ बताउँछन् ।  उनले मकै बालीको उत्पादन लिंदै आएको पाँच रोपनी खेतमा यस वर्ष मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाएका छन् । कृषि ज्ञान केन्द्रको ६ लाख रुपैयाँ आर्थिक सहयोगमा रामपुर नगरपालिकाको समन्वयमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ५ को बेझाड खेतमा करीब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाइएको छ । यी जग्गा पहिला भने यतिखेर मकैले भरिएका हुन्थे ।            आम्दानी लिन र तेलजन्य पदार्थको उपभोगका लागि कृषकले सूर्यमुखीलाई व्यावसायीकरण गरेका हुन् । अनुदानमा बीउ तथा सिंचाइका लागि कुलो मर्मत तथा पुनःनिर्माणमा सहयोग पाएपछि उत्साहका साथ कृषक सूर्यमुखी खेतीमा लागेका छन् । प्रतिरोपनी चार मुरी मकै उत्पादन हुने खेतमा अहिले पहेंलै सूर्यमुखी फुल्दा मनका पिरहरु खुशीमा परिणत भएको कृष्णकान्त पौडेल बताउँछन्।        तेलजज्य पदार्थको खपत कम गराउन र मकै बालीको तुलनामा यसबाटै धेरै आम्दानी लिन सकिने, मेहनत र लगानी पनि कम पर्ने भएकाले सूर्यमुखी खेतीलाई व्यावसायिकरूपमा रोजेको कृषक दुर्गादेवी शर्मा बताउँछिन् । मकै बालीको तुलनामा सूर्यमुखीबाट धेरै आम्दानी लिन पाइने, लगानी र मेहनत कम पर्ने, स्वच्छ तेल उपभोग गर्न पाइने भएपछि उनीहरु  व्यावसायिक तवरले नै यस खेतितर्फ आकर्षित भएका हुन् ।        रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले परीक्षणका रूपमा लगाइएको सूर्यमुखी सोचेभन्दा राम्रो भएको बताउँदै कृषकले यसलाई निरन्तरता दिन सकेमा बाहिरबाट आउने तेलहन बाली कम गर्न सकिने बताउँछन् । रामपुरमा तेलजन्य पदार्थको उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रमअन्तर्गत सूर्यमुखी खेती शुरु गरेको वडाध्यक्ष हिमाल मल्लले बताए ।            कृषि ज्ञानकेन्द्र पाल्पाले यस आर्थिक वर्षमा रामपुरको बेझाड खेतलाई सूर्यमुखीको उपयुक्त पकेट क्षेत्रका रुपमा छनोट गरी खेती शुरु गरेको हो । ज्ञानकेन्द्रका अनुसार केन्द्र सरकारको बजेट र कार्यक्रमलाई स्थानीय सरकारको समन्वयमा रामपुरमा सूर्यमुखीको सम्भावना देखेर पकेट कार्यक्रम शुरु गरिएको छ ।            दाना झार्न अप्ठ्यारो हुने भएको हुदा त्यसको लागि कृषकले मेसिनको माग गरेको खण्डमा समाधानको पहल गर्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन्। कृषकले क्षेत्र विस्तार गर्न चाहेमा सूर्यमुखी खेतीमा ज्ञान केन्द्रले लगानी गर्ने उनको भनाइ छ ।      यस वर्ष रामपुर नगरपालिकासँगै निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला, माथागढी गाउँपालिका लगायतका क्षेत्रमा सूर्यमुखी खेती गरिएको ज्ञान केन्द्रले बताएको छ ।  एक बालीबाट तेब्बर उब्जनी लिन सकिने हुँदा पनि यस क्षेत्रमा कृषकको आकर्षण यसमा बढेको छ । सूर्यमुखी फूलको उत्पादित बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ ।            सूर्यमुखी फूललाई बाह्रै महिना फूलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने र अर्कातर्फ बियाँबाट तेल आउने भएकाले व्यावसायिकतातर्फ कृषक लागेका हुन् । खेतबारी जहाँ पानी जाँदैन त्यहाँ यसको खेती गर्न सकिने र बाह्रै महीना फूल फुल्ने भएकाले यसको आम्दानी पनि राम्रै लिन सकिने अनुभव यहाँका किसानको छ । यहाँ अरु किसानले पनि मकै छाडेर सूर्यमुखी फूलको खेती गर्ने सोच बनाएका छन् ।  रासस

तस्वीर : पाल्पाको बेझाडमा व्यावसायिक रुपमा गरिएको सूर्यमुखी खेती

पाल्पाको रामपुर नगरपालिका–५, बेझाडमा किसानले गरेको सूर्यमुखी फूलको खेती । यहाँ पकेटक्षेत्र कार्यक्रमअन्तर्गत यस वर्षबाट व्यावसायिक रुपमा कृषकले सूर्यमुखीको खेती शुरु गरेका छन् । तस्वीर : रासस

किसानको नयाँ रोजाइ सूर्यमुखीको खेती

दमक (झापा) : कमल गाउँपालिकाका किसानहरुले व्यावसायिक सूर्यमुखीखेतीलाई नयाँ विकल्प बनाएका छन्। धानबालीपछि खाली हुने तथा कम फाइदा हुने अन्य बाली लगाउँदै आएका यहाँका किसानहरुले सूर्यमुखीलाई नयाँ  विकल्प बनाएका हुन्। सूर्यमुखी खेती गर्दा छिटो समयमा राम्रो उत्पादन लिन थालेपछि पहिलो वर्षको खेतीबाट नै किसान उत्साहित बने...