फागुन २९, काठमाडौं । नेपाली महिलाहरुको आम रुपान्तरणका लागि आर्थिक संलग्नता बढाउनुपर्ने र यसका लागि महिला उद्यमशीलताको विकास आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।
महिला संलग्नतासहितको सामाजिक उद्यमशीलताको विस्तारले दीगो विकास लक्ष्य हासिल गर्नसमेत योगदान गर्ने उनीहरुको भनाइ छ ।
स्वच्छ व्यवसायी समूहद्वारा २५ वर्ष पुगेको सन्दर्भमा र ११२ औं नारी दिवसको अवसरमा हालै आयोजित उद्यमशीलताको क्षेत्रमा संघर्ष र सफलता हासिल गरेका महिला उद्यमीहरुको समूहगत छलफलमा सहभागीहरुले दीगो विकास लक्ष्यका लागि स्वच्छ व्यवसाय तथा सामाजिक उद्यमशीलता विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
महिला उद्यमलाई बढावा दिनका लागि सहज र सहुलियतपूर्ण कर्जा, तालिम, बजार, नविन प्रविधि विकास लगायतका क्षेत्रमा सहयोग गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ । उनीहरुले यसका लागि व्यवहारिक र सामाजिक संरचनालाई चिर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
स्वच्छ व्यवसायी समूहका संस्थापक अध्यक्ष मिरा भट्टराईले स्वच्छ व्यवसायले महिला उद्यम, महिलाको आर्थिक सशक्तिकरण र सामाजिक उद्यमशीलता विकास गर्न उल्लेख्य भूमिका खेलेकाले आगामी दिनमा हाल भोग्न बाध्य भएका नीतिगत तथा व्यवहारिक अप्ठ्यारालाई हटाउन आवश्यक रहेको बताइन् ।
समूहगत छलफलका अन्य सहभागिहरुले पनि महिला उद्यमको विकासले समावेशी आर्थिक विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने सक्ने भएकाले स्वच्छ व्यवसायबाट प्राप्त अनुभवलाई महिला उद्यमको राष्ट्रिय विकासका लागि समेत प्रयोग गर्न सकिने बताए ।
उद्यमशीलता विकासका आधारभूत सवालमा सरकारले सहयोग गरेमा नोपलमा महिला उद्यम, सामाजिक उद्यम र समावेशी आर्थिक विकालाई प्रबर्द्धन गर्दै दीगो विकास लक्ष्य हासिल गर्न समेत योगदान गर्न सकिने सहभागिहरुको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगमा सदस्य सलोनी प्रधान सिंहले महिला उद्यमीले समूहगत छलफलमा उठाएका सवालहरु राष्ट्रिय विकासका नीति, कार्यक्रम र व्यवहार सबैका लागि सान्दर्भिक भएको भन्दै यी सवाललाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोग प्रतिबद्ध रहेको बताइन् ।
स्वच्छ व्यवसायी समूहका अध्यक्ष डा.सुनिल चित्रकारले सामाजिक उद्यमशीलताको विस्तार मार्फत महिला तथा विपन्न बर्गको सशक्तिकरणका लागि नेपालको स्वच्छ व्यवसाय एक आन्दोलन र अभियानको रुपमा क्रियाशील रहेको र यो क्रियाशीलता आगामी दिनमा पनि जारी रहने बताए ।
कार्यक्रममा स्वच्छ व्यवसाय तथा सामाजिक उद्यमशीलतामा योगदान पुर्याएका महिलाहरुलाई सम्मान पनि गरिएको थियो ।